लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
 
उनका अनुसार, अब फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी छ । “नारायणगढ–बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ,” उनले भने, “भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरू सबै सकिएका छन्, फिनिसिङ, ट्राफिक सेफ्टीका कामहरू, सर्भिस लेनलगायत केही काम बाँकी रहेको छ ।”
 
अब दाउन्ने क्षेत्रमा विगतका वर्षामा झैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने उनले बताए । दाउन्नेमा हाल एकतर्फी दुई लेनको ‘रिपेभमेन्ट’ सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको उनले बताए । यही जेठ १५ गतेसम्म मुख्य काम सकाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
 
नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका थिए । “विगतको वर्षकोहरूको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजसो कामहरू गरिसकेका छौँ,” उनले भने, “एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भइरहेको छ । जेठ १५ सम्म मुख्य कामहरू सकिन्छ । धेरैपछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।”