0 प्रतिक्रिया
खतरनाक बन्दै कोरोनाः हावाबाट समेत फैलिने भेरियण्ट देखापर्यो ।
Cut out microscopic close-up of the coronavirus covid-19 disease
भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। ‘हावाबाट द्रुत गतिमा सर्न सक्ने’ बताइएको उक्त भेरियन्टलाई स्वास्थ्य अधिकारीहरूले बेलायती र भारतीय भेरियन्टको मिश्रण भनेका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लोंगले कोरोनाको उक्त भेरियन्ट निकै खतरनाक पाइएको बताए।
भाइरसको प्रकृतिमा प्रशस्त फेरबदल देखिए पनि तीमध्ये कुनै कम संक्रामक हुन्छन् भने कुनै अधिक संक्रामक हुने गर्छन्। गएको एक वर्षमा कोरोना भाइरसका हजारौं म्युटेसन पत्ता लागिसकेको छ।
‘भियतनाममा पत्ता लागेको भाइरसमा बेलायती र भारतीय गरी दुवै भेरियन्टका विशेषता देखिएका छन्’‚ मन्त्री लोंगलाई उधृत गर्दै बिबिसीले लेखेको छ। उनका अनुसार‚ कोरोनाको यो भेरियन्ट यसअघि पत्ता लागेका भेरियन्टका तुलनामा अधिक संक्रामक छ। उक्त नयाँ भेरियन्ट हावाको माध्यमबाटै फैलन सक्ने पाइएकाले यसलाई ‘खतरनाक’ भनिएको हो।
नयाँ संक्रमितहरूको परीक्षणका क्रममा उक्त नयाँ भेरियन्ट पुष्टि भएको हो। मन्त्री लोंगले उक्त भाइरसको ‘जेनेटिक कोड’ चाँडै सार्वजनिक गरिने बताए।
भियतनाममा केही महिनायता कोरोना संक्रमणको केसमा वृद्धि भएको छ। अहिलेसम्म ६ हजार ७ सय जनामा संक्रमण देखिएकोमा आधाजसो एक महिनायता थपिएका हुन्। जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भियतनाममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ।



