0 प्रतिक्रिया
बारा-पर्सा औद्योगिक करिडोरमा १३२ केभी लाइनबाट विद्युत् आपूर्ति
२२ फागुन काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आहृवान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ ।
त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरुले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्ने छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महंगो पर्दैन ।
प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।
‘त्यस क्षेत्रमा खुल्ने उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत माग गर्ने उद्योगहरुलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत आपूर्ति उपलब्ध गराउने छौं,’घिसिङले भने, ‘पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’
हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारणलाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पुर्याइने छ । बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले उल्लेख गरे ।
सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा-परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ ।
यसबाट प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने भएको छ । उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ ।



