+
+
-- Sponsored Ad --

मोरङको लेटाङमा प्रहरी अपरेसन तीब्र, ५ जना पक्राउ

516 पटक हेरिएको
Clock २०७८ चैत्र ७, सोमबार १०:१७
-- Sponsored --

प्रहरीकै ज्यान जानेगरी मोरङको लेटाङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहानदेखि सर्च अपरेसन तीब्र पारेको छ। 

एक महिला प्रहरीको ज्यान जानेगरी भएको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए।

invotech

यसै क्रममा आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

एक महिला प्रहरी जवानको मृत्यु हुनुका साथै मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए। तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्। भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो।

 

लेटाङ ५ का वडाध्यक्ष भीमसूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए।

आक्रोशित विद्यार्थी र स्थानीयले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्।

दिउँसो एक बजेतिर विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे।

छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो।

‘हामी यो मान्छेलाई जुत्ताको माला लगाएर लेटाङ बजार घुमाउँछौं, मोसो दल्छौं अनि तपाईँहरूले लानुहोला भन्ने गाउँलेको माग थियो,’ मोरङ प्रहरीका एक अधिकारीले  भने, ‘हामीले त्यसो गर्न हुँदैन, मिल्दैन भन्यौं। गाउँलेले हाम्रो र जनप्रतिनिधि कसैको कुरा सुन्न मानेनन्।’

प्रहरी नियन्त्रणमा रहेका व्यक्ति खोस्ने प्रयास बारम्बार भएको र आफूहरूले त्यसो गर्न नदिएको प्रहरी भनाइ छ।

साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। त्यसपछि साँझमा झडप नै भयो।

‘हामीले बल प्रयोग नगरेकै हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘दिउँसो एक बजेदेखि साँझसम्म हामीलाई गाउँलेले रोके। तैपनि हामीले सम्झाउने प्रयास गरिरह्यौं। तर, अन्त्यमा हामीमाथि आक्रमण भयो।’

भीडले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो।

स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी अझै दिएको छैन।

के हो घटना?

चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्।

‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडा नम्बर ५ का अध्यक्ष मगरले  भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो।’

सेताेपाटीबाट…………………..

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win