१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सकि्रय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी फितलो छ । बाढी र डुबानका हिसाबले प्रदेशको राजधानी समेत रहेको कैलाली उच्च जोखिममा छ ।
स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्वतयारी भइरहेको बताए पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । जिल्लामा उद्दार, राहत लगायतमा आवश्यक पर्ने स्रोत साधनको पनि अभाव छ ।
मनसुन सकि्रय भइसकेको स्थितिमा समेत विपद् प्रतिकार्य योजना बनाउन नसकिएको विषयमा थापाले स्थानीय तहको चुनावका कारण समस्या भएको दाबी गरेका छन् । ‘स्थानीय तहको चुनाव भयो । नवनिर्वाचित जनप्रतिनिधिहरुले बजेटको तयारी भन्दै बैठक बस्ने पाइएन’ थापाले भने, ‘हाम्रा कर्मचारी साथीहरु पनि चुनावमा खटिनुभयो । पश्चिममा मनसुन ढिलो गरी आउँछ भन्ने भएका कारण पनि केही ढिलाइ भएको हो ।’
विपद्का बेला उद्दारको काममा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग आवश्यक पर्ने सामग्रीको अभाव भएका कारण थप समस्या हुने देखिन्छ । सुरक्षा निकायका अधिकृतहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग विपद् बेला प्रभावितहरुको उद्दार गर्न आवश्यक पर्ने स्रोत साधन माग गर्दासमेत प्राप्त हुन नसकेको गुनासो गर्छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले सामान्य बाहेक विपद्का बेला आवश्यक पर्ने स्रोत साधनको अभाव रहेको बताए । ‘हामीसँग सामान्य स्रोत साधन बाहेक आवश्यकताअनुसार छैन । स्थानीय स्तरमा रहेका बीओपीहरुमा समेत उद्दारका सामग्री उपलब्ध गराउन सकेमा धेरै हदसम्म सहज हुने थियो’ जोशीले भने ‘स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका माथिल्ला निकायमा अनुरोध गरेका थियौँ । तर अहिलेसम्म कुनै ठाउँबाट समेत आवश्यक स्रोतसाधन प्राप्त भएको अवस्था छैन ।’
अहिलेसम्म जिल्लामा कैलारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने आधारभूत सामग्री दिएपनि अन्य कुनै पनि स्थानीय तहले उपलब्ध गराएका छैनन् ।
कैलालीमा बाढीले बर्सेनि तटीय क्षेत्रमा क्षति गर्दै आएको छ । खासगरी विपद् जोखिमका हिसाबले पूर्वी कैलालीका भूभागलाई बढी संवेदनशील मानिन्छ ।

