0 प्रतिक्रिया
चिकित्सक कुटेको आरोपमा प्रहरी जवान निलम्बित
१४ असार, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोपमा एकजना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।
सोमबार साँझ प्रतिष्ठानका डा. कुलबहादुर घिसिङलाई कुटपिट गरेको अभियोग लागेपछि प्रहरी जवान राजेन्द्र थापा निलम्बित भएका हुन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले एकान्तकुनामा त्यसदिन चेकिङमा बसेका सबैलाई बग्गिखाना फिर्ता बोलाएको थियो । अन्यलाई चाहिँ कारबाही हुन्छ हुँदैन भन्ने खुलेको छैन । थापालाई नरोकेको आरोपमा अन्यलाई पनि फिर्ता बोलाइएको थियो ।
‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीलाई मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।
प्रहरीका अनुसार यो घटना एकान्तकुनामा रहेको ट्राफिक चेक प्वाइन्टमा ट्राफिक प्रहरी जवान हिँडिरहेका बेला घटना भएको थियो । प्रहरी जवान थापाले चाहिँ डाक्टरले ‘कुम ठोक्काउँदै हिँडेपछि विवाद भएको र भिडियो खिच्न थालेपछि प्रतिवाद’ गरेको बताएका छन् । उनले दाबी गरेका छन्, ‘मोबाइल खोस्दा नाकमा लागेको मात्रै हो ।’



