काठमाडौं : सन् १९७० को दशकमा अमेरिकाको न्युयोर्क सिटीबाट नयाँ स्वरूप पाएको हिप हप संगीत अर्थात् र्‍याप पाँच दशकमा विश्वको सबैभन्दा बढी गाइने, सुनिने संगीतको विधामा पर्छ।

आफूहरूमाथि भएको थिचोमिचो, अत्याचारको विरुद्धमा बोलिने आवाजलाई लय दिएर अन्यायका विरुद्ध लड्ने हतियारको रूपमा प्रयोग हुँदै आएको र्‍याप अहिले जुनसुकै भावना अभिव्यक्त गर्न पनि प्रयोग हुने गर्छ। 

नेपालमा सन् १९९० को दशकमा पहिलोपटक भित्रिएको र्‍यापले २००० पछि नयाँ गति र लय पायो। अहिले नेपालमा मात्रै हेर्ने हो भने पनि र्‍याप सर्वाधिक सुनिने संगीतमा पर्छ।

नेपाली हिप हप संगीत अहिलेको अवस्थामा आउनुमा यम बुद्धको नामले परिचित अनिल अधिकारीको ठूलो योगदान छ। जसलाई नेपाली र्‍यापसँग जोडिएका कसैले पनि नकार्न सक्दैन। 

नेपाली र्‍यापको लागि वर्ष २०७८ र ७९ निकै महत्त्वपूर्ण रह्यो। विभिन्न रियालिटी सो तथा ब्याटल र्‍यापका कार्यक्रमबाट धेरै नयाँ र्‍यापर भित्रिनु एउटा महत्त्वपूर्ण कुरा हो भने अर्को महत्त्वपूर्ण कुरा र्‍यापरकै रुपमा पहिचान बनाएका इन्जिनियर बालेन साह काठमाडौं महानगरको मेयर बन्नु हो। 

मेयर पदमा बसेपछि सार्वजनिक चासोका विषयमा काम गर्दै आइरहेका बालेनले काठमाडौंमा र्‍यापर यम बुद्धको शालिक बनाउने घोषणा गरेका छन्।

त्यसका लागि बजेटसमेत छुट्याइसकेको महानगरले जनाएको छ। तर, बालेनको यो निर्णयमा समर्थन जनाउनेभन्दा असहमत हुनेहरू धेरै देखिएका छन्।

शुक्रबार यम बुदध्को शालिक बनाउनको लागि बजेट छुट्याएको घोषणा भएसँगै मेयर बालेन र निर्माण गर्ने भनिएको यम बुद्धको शालिक विवादमा आएका हुन्। 

पढेलेखेको युवा मेयर भएर महानगरको बजेट शालिक जस्तो अनुत्पादक ठाउँमा लगानी गर्ने? महानगरले गर्नुपर्ने सबै काम सकिएका हुन्? यम बुद्धको शालिक बनाउने कुरा घोषणा पत्रमा किन थिएन?

नेपाली र्‍यापमा योगदान भए पनि सरकारी पैसाले किन शालिक बनाउने? शालिक नै बनाउनुपर्ने गरी देशका लागि यम बुद्धले त्यस्तो ठूलो के योगदान गरेका थिए? जस्ता धेरै प्रश्न यतिवेला बालेनमाथि उठिरहेका छन्। 

केहीले यो काम महानगरले भन्दा पनि यम बुद्ध फाउन्डेसनले गर्नुपर्ने र महानगरले त्यसमा सहयोगी भूमिका खेल्न सक्ने सुझाव पनि दिएका छन्। राजधानीमा व्याप्त अरू समस्याको समाधानतिर लाग्यो भने ५ वर्षपछि जनतासामु जान सजिलो हुने उनीहरूको सुझाव छ। 

त्यस्तै, केहीले भने महानगरको यो निर्णयलाई स्वागतयोग्य भनेका छन्। विशेषगरी यम बुद्ध तथा र्‍यापका प्रसंसकहरूले बालेनको समर्थन गरेका छन्।

उनी लाखौँ युवाहरूको लागि प्रेरणा भएको तथा नेपाल र नेपाली संगीतलाई विश्व बजारमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यम बुद्धको शालिक बनाउँदा कसैलाई घाटा नहुने बरु सरकारले नेपाली र्‍यापलाई स्विकारेको र कलाको कदर गरेको बुझिने भनेर तर्क गर्नेहरू पनि छन्। 

वि.सं. २०४४ जेठमा मोरङको सलकपुरमा जन्मिएका यम बुद्धले लगभग एक दशक सक्रिय रुपमा र्‍यापमा लागे। उनकै नेतृत्वमा नेपालको पहिलो र्‍याप ब्याटल शो रअ बार्ज आयोजना भएको थियो। जसबाट युनिक पोएट, लाउरे, साकार, बालेन जस्ता अहिलेका चर्चित र्‍यापर लाइम लाइटमा आएका थिए। 

उनका एल्बम, सिंगल, कोल्याब, फ्रिभर्स गरेर ५० भन्दा बढी र्‍याप रेकर्ड भएका छन्। उनका र्‍यापमा समाजिक, राजनीतिक चेत पाइन्छ। उनका ‘साथी’, ‘आमा’, ‘हिंसाको कालो बादल’, ‘नरुनु तिमी’, ‘फुटपाथ मेरो घर’, ‘पागलपन’, ‘पैसा’, ‘आउँदै छु म’, ‘सिपाही’ लगायतका थुप्रै र्‍याप चर्चित छन्।

वि.सं. २०७३ माघमा बेलायतको लण्डनस्थित आफू बसेको घरमा यम बुद्ध मृत अवस्थामा भेटिएका थिए। घटनाको प्रकृति हेरी अनुसन्धानपछि आत्महत्या भनिएको थियो। २९ वर्षको उमेरमा निधन भएका यम बुद्धको अन्तिम गीत मलामी हो। 

भर्खरै सम्पन्न र्‍याप रियालिटी सो नेपहपको श्रीपेचका जजसमेत रहेका बालेन यम बुद्धका मिल्ने साथी पनि हुन्। नेपामा र्‍यापले पनि संगीतका अन्य विधालाई जस्तै एउटा दर्जा पाएको, र्‍यापको रियालिटी सो भएको देख्ने यम बुद्धकै सपना रहेको र त्यो सपना पूरा भएको भन्दै नेपहपको श्रीपेचको फाइनलमा बालेनले खुसी व्यक्त गरेका थिए। 

नेपाली र्‍यापको बजार बढ्दै जाँदा यम बुद्धको शालिक बनाउनुपर्ने प्रसंग बेला बेलामा उठ्दै आएको थियो। यसपालि भने राजधानी सहरको मेयर पदमा पुगेका बालेनले शालिक बनाउने घोषणा गरेका हुन्। शालिक बनाउने निर्णय विवादमा आएपछि महानगर तथा बालेनको प्रतिक्रिया आएको छैन।