कावासोती । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा सेवाग्राहीको थामिनसक्नु भिड भएको छ ।
दुई दिन अघिदेखि कार्यालयमा मतदाता नामावली बनाउनेको सङ्ख्या ह्वात्तै बढेको हो । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले यही असार एक गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । तर असार अन्तिममा आएर सेवाग्राहीको संख्या ह्वात्तै बढेपछि कार्यालयलाई सेवा दिन समेत हम्मे हम्मे परेको छ । बिहीबार दिउसो सातआठ सय हाराहारी सेवाग्राही कार्यालय परिसर र आसपासमा छन् । जिल्लाको पहाडी तथा ग्रामीण भेगबाट गाडी नै रिजर्व गरेर मतदाता नामावली दर्ता गर्न आएका छन् । कोही काखमा बच्चा बोकेर आएका छन् त कोही जेष्ठ नागरिक छन् । युवा पुस्ताको संख्या बढी छ । भिड बढेपछि कार्यालय परिसरमा तँछाडमछाड भएको छ । सेवाग्राहीले घण्टौँसम्म कुर्नुपरेको गुनासो गरेका छन् ।

कार्यालय प्रमुख लाल प्रसाद भुसालका अनुसार सुरुका दिनमा सेवाग्राही नआएर काम नपाएको अवस्था रहेको कार्यालयमा असार अन्तिममा आएर एक्कासि सेवाग्राहीको चाप बढेपछि काम गर्न समेत गाह्रो भएको बताउनुहुन्छ । सेवाग्राहीको चाप बढेपछि जनशक्ति समेत थप गरेको उहाँको भनाई छ । सुरुमा एक जना मात्रै कर्मचारीले काम गरेकोमा अहिले तीनजना रहेको उहाँले बताउनुभयो । कावासोती नगरपालिकाबाट र देवचुली नगरपालिकाबाट अझै थप दुई जना जनशक्ति माग गरेको उहाँले बताउनुभयो । नयाँ जनशक्तिबाट केही त्रुटि हुन्छ कि भन्ने चुनौती रहने हुँदा थप समस्या आउने हो कि भन्ने चिन्ता समेत उहाँले व्यक्त गर्नुभयो । तर, सेवाग्राहीको चाप अनुसार जनशक्ति नथपे काम गर्न गाह्रो हुने उहाँको भनाई छ । तीनदिन अघिसम्म दैनिक डेढ सय हाराहारीको मतदाता नामावली दर्ताको काम गर्दै आएकोमा अस्ति तीन सय , हिजो चार सय जनाको दर्ताको काम गरेको बताउनुभयो । आज पाँच छ सय जना पुग्ने अनुमान उहाँको छ ।

मतदाता नामावली संकलन कार्यक्रम अन्तरगत नयाँ मतदाताको नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सकिन्छ । तर अहिले कार्यालयमा आएका आधिकांश नयाँ मतदाता रहेको कार्यालय प्रमुख भुसालको भनाई छ । सरकारले आँउदो मङ्सिरमा निर्वाचन गर्ने तयारी गरेको छ । जसलाई लक्षित गरेर मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन भएको हो । निर्वाचन घोषणा हुन अघिसम्म यो कार्यक्रम सञ्चालन हुने भुसालले जानकारी दिनुभयो ।

