+
+
-- Sponsored Ad --

पञ्चेबाजाको मौलिकता हराउँदै

336 पटक हेरिएको
Clock २०७९ भाद्र १८, शनिबार १५:५१
-- Sponsored --

टक्सार (भोजपुर) । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर ।

हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्परा पनि ओझेलमा पर्दै जान थालेका हुन् ।

 

पछिल्लो पुस्तामा पुराना लोकबाजाको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुरा लोप हुँदै गएको विद्योदय मावि भोजपुर नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिङ्गा मतलब नै छैन, यस्तै हो भने अब ती कुरा क्रमिकरुपमा इतिहास बन्न सक्छन् ।’

त्यतिमात्र होइन पछिल्लो समयमा बाजागाजा बजाउनेको सङ्ख्यामा कमी आउँदै जान थालेपछि पनि यो परम्परा कम हुँदै गएको स्थानीयको भनाइ छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्नुहुन्छ, ‘बाबुबाजेले गर्दै आएको यो परम्परा र यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैनन्’, मोतेले भन्नुभयो, ‘हाम्रो निधनपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।’

विशेष गरी सहनाइ विवाहबाहेक दशैं, तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाइको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुनथालेको छ ।

वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोकपञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–८ कातुलसी ढुङ्गानाको धारणा रहेको छ । “आधुनिक गीत सङ्गीत र नयाँ प्राविधिक वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाइ) लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ । ढुङ्गानाले भन्नुभयो, ‘अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भर्ने, इन्टरनेटबाट डाउनलोड गर्छन् गाउँमा गएर छानी छानी बजाउँछन् ।’

एकातिर चासो कमी हुनु र अर्कोतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३ का टेकबहादुर मोतेको भनाइ छ । चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिने मोतेको भनाइ छ ।

बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीय घमचन्द्र दाहाल बताउनुहुन्छ । “युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ । आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्”, दाहालको भनाइ रहेको छ । – रासस

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win