+
+
-- Sponsored Ad --

टेकनाथ रिजालको आरोपः शरणार्थीको नाममा पैसा उठाउँदैछन् भन्दा शीर्ष नेताहरुलाई वास्ता गरेनन्

205 पटक हेरिएको
Clock २०८० जेष्ठ २४, बुधबार १६:४६
-- Sponsored --

२४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भिरतापूर्वक नलिएको उनले बताए ।

थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका अधिकारवादी नेता रिजालले अनलाइनखबरसँग भने, ‘यो घटनाबारे हल्लाखल्ला हुनुअघि नै मैले शीर्ष नेताहरु र उच्च सरकारी अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको थिएँ । वास्ता गरेनन्, अहिले म आफैंलाई यस्तो भयो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो ।

त्यसपछि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले मुद्दा अदालत लैजाने बेलामा रहस्यमय रुपमा आफूविरुद्ध प्रेमराज पन्थीको किटानी जाहेरी परेको बताए । ‘उनले मेरो घरमा तोडफोड गरेपछि मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ’, उनले थपे, ‘त्यसमा कुनै अनुसन्धान भएन, अहिले उनकै जाहेरी मविरुद्ध पर्‍यो ।’

केही व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए ।

‘अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९÷१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।’

आफूले विगतमा पनि यस विषयलाई लिएर शीर्ष नेताहरुलाई भेटेको बताउँदै उनले भने, ‘अहिले म यो लडाइँमा एक्लै छु, सबै एकातिर म अर्कोतिर भएको छु, न्याय पाउनेमा विश्वस्त छु ।’

अहिले जिल्ला अदालत, काठमाडौंमा १७ जना प्रतिवादीहरुको थुनछेक बहस चलिरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win