बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको दाबी गर्नुभएको छ ।
एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आएपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्दा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा सम्झौताको अंग हुने कि नहुने भनेर एलफोर्डसँग सोध्ने बताउनु भएको थियो ।
ओलीले भन्नुभयो –‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभयो, सोध्न किन पर्याे, उहिले नै एमसीसीले जवाफ दिएको छ, सम्झौता भन्दा वरपर कसका के घोषणामा कुनै सरोकार छैन जान्दैनौं भनेको छ ।’एमसीसीको अनुदान संसदबाट पास गर्ने बेलामा गरिएको १२ बुदे ब्याख्यात्मक घोषणा झुटको खेस्रो मात्रै भएको ओलीको भनाई छ ।
ओलीले थप भन्नुभयो –‘संसदले अनुमोदन गरेको कुरा कार्यान्नवयनमा जान्छ, त्यो १२ बुदे घोषणा(संसदबाट पास भएको )भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले(सत्तापक्षले)नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’
एमसीसी संसदबाट अनुमोदन गर्दा १२ बुदे ब्याख्यात्मक घोषणा गरिएको थियो । २०७४ भदौ २९ मा नेपालको अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिबीच अमेरिकाको वासिङ्टनमा एमसीसी सम्झौता भएको थियो । एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन आज हुँदैछ । २०७८ फागुनमा नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।

