0 प्रतिक्रिया
कोरोना विरुद्धको खोप नपाउँदासम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने
जिल्लाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाउँदासम्म सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने जनाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समितिले बुधबार राखेको संयुक्त भेलाले कोभिड विरुद्धको खोप लगाउन नपाएसम्म जुनसुकै बोर्ड परीक्षा, अनलाइन र अफलाइन कक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि बिहीबारदेखि बन्द गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।
कोभिड १९ को बढ्दो संक्रमण र त्रासपूर्ण अवस्थामा शैक्षिक अवस्थालाई चलायमान बनाउनका लागि बालबालिकाहरु तथा अभिभावकहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा शिक्षकहरु जोखिममा रहेको उनले बताए । सरोकारवाला निकायहरूको ध्यानाकर्षण गरी जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालयमा खोप व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष धनकला गाहाले बताइन् ।
शिक्षकका पेशागत संघसंस्थाले कक्षा ११ को परीक्षा स्थगन गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसाद ढकालले बताए । सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप नपुग्दासम्म अन्य शिक्षकहरुले पनि खोप नलगाउने निर्णय गरेको अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवरले बताए ।
यसैबीच, रैनादेवी छहरा गाउँपालिकामा नेपाल शिक्षक महासंघले कोभिड विरुद्धको खोप लगाउन माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कोणसभा गरेको छ । शिक्षक र सम्बन्धित कर्मचारीले तत्काल खोप लगाउन आवश्यक पहल गर्न गाउँपालिका अध्यक्षमार्फत ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक महासंघका रैनादेवी छहरा अध्यक्ष तुलाराम गरम्जाले बताए ।
उक्त पालिकामाभित्र ६२ सामुदायिक, एक निजी विद्यालयमा ४५५ जना शिक्षक/शिक्षिका तथा कर्मचारी कार्यरत रहेका छन् । स्वास्थ्य कार्यालयले शिक्षकहरुलाई खोपका लागि प्राथमिकताको तेस्रो स्थानमा राखेकोप्रति आपत्ति जनाउँदै तत्काल खोपको व्यवस्था गर्न माग गरेको छ ।



