एन सञ्चार, १८ पुषः काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।
अहिले लागेको हुस्सु, कुहिरो बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा आज पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार आंशिक रुपमा बादल लागे पनि आज पारिलो घाम लाग्ने छ । तराईका केही जिल्लामा लागेको बाक्लो हुस्सु, कुहिरो हट्न समय लाग्ने मौसमविद्ले बताएका छन् ।
यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना हुने उनले जानकारी दिए । “पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना हुन्छ । हिमपात हुँदा जाडो पुनः बढ्छ,” उनी भन्छन्, “हामी मध्ये जाडोमै छौं । माघे जाडो आउनै बाँकी छ । त्यसैले जाडो अझै बढ्न सक्छ । शून्य डिग्री सेल्सियससम्म तापक्रम घट्न सक्छ ।”

