0 प्रतिक्रिया
एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै पठाइएको हो, अमेरिकी दूतावासले सत्य बोलोस् : ओली
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । उनले ‘ओरिजिनल’ पत्र सार्वजनिक गर्न सरकारलाई आग्रह मात्र गरेका छैनन्, अमेरिकी दूतावासलाई पनि बोल्न आग्रह गरेका छन् ।
एसपीपीबारे एमालेले सरकारमाथि प्रश्न गरिरहेका बेला २ असारमा ओली सरकारकै पालामा यो कार्यक्रममा सहभागी हुन नेपाली सेनाले सरकारको तर्फबाट काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको खुलेको थियो ।
मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले सार्वजनिक भएको उक्त पत्रमाथि प्रश्न उठाएका छन् । आफूअघि रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिस्तरीय निर्णयअनुसार सेनालाई पत्राचारका लागि अनुमति दिएको तर, आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ पत्र सार्वजनिक गरिएको उनले बताए । ओलीले भने, ‘अहिले कात्तिक १० गतेको ठेगाना दिइएको छ । तर म सरकारलाई ओरिजिनल पत्र देखाउ भन्न चाहन्छु ।’
आफूलाई मुछ्न मात्र मिति केरमेट गरेर पत्र सार्वजनिक गरिएको ओलीको दाबी छ । उनले भने, ‘२७ अक्टोबर भनेर जुन मिति लेखिएको छ, त्यो २७ चाहिँ हातले लेखिएको छ । अरु सबै टाइप, २७ अक्टोबर चाहिँ हातले । केपी ओलीलाई मुछ्न आज लेखिएको हो त्यो २७ तारेख ।’ चलानी नम्बर पनि हातले लेखिएको भन्दै उनले यो सरकारले गरेको छली काम भएको आरोप लगाए । उनले अघि भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै अमेरिकन एम्बेसीमा पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्न चाहन्छु ।’
मिति र चलानी नम्बर हातले लेखिएको भन्दै पटकपटक पत्रको वैधानिकतामाथि प्रश्न उठाएका उनले आफ्नै पालामा पत्र लेखेको भएपनि आफ्नो जानकारी विना सेनाले पठाएको बताए । यसबारे तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सोध्न सकिने भन्दै उनले भने, ‘बताएको भए त्यतिबेलाको सरकारले रोक्थ्यो ।’
तत्कालीन रक्षा सचिव (हाल निर्वाचन आयुक्त) ईश्वर पौडेलले आफूलाई भनेको थिएँ भनेर दिएको सार्वजनिक अभिव्यक्ति झुटो भएको ओलीले बताए ।
जनदबावले रोकिएका हुन्, फेरि गर्न सक्छन्
एमाले अध्यक्ष ओलीले २०१९ मा आफ्नो नेतृत्वको सरकारले नै एसपीपी अघि नबढाउने निर्णय गरेको दाबी गरे । तर अहिले गटबन्धन सरकारले अघि बढाउन खोजेको र सार्वजनिक भएको १०बुँदे मस्यौदा घातक भएको बताए ।
जनदबावका कारण मात्र पछाडि हटेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘गठबन्धनका मान्छेहरु, जो एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरु छन्, सबै यसमा सरिक छन् । जनदबावले गर्दा स्थगित गरेका हुन्, भेल सान्त हुने वित्तिकै जसरी जाल लिएर माझीहरु पुग्छन्, त्यसरी अर्को जाल लिएर सामेल हुनेछन् ।’



