0 प्रतिक्रिया
ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?
१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए ।
सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको ओलीले बताए । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरे ।
‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यो किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि’ ओलीले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नुभयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ?’
ओलीले सरकारले झुटो कुरा गरेर नागरिकलाई अल्मल्याउने काम गरेको आरोप लगाए ।



