0 प्रतिक्रिया
जनार्दन शर्मा प्रकरण : संसदीय विशेष समितिको सभापति चयन गर्न बैठक बस्दै
२९ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।
आजको बैठकको कार्यसूची समितिको सभापति चयन गर्ने रहेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।
अर्थमन्त्री हुँदा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि विवाद सुरु भएको थियो । सोही विवादका कारण शर्माले असार २२ गते राजीनामा दिइसकेका छन् ।
समितिमा एमालेका ४ जना (खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक), नेपाली कांग्रेस २ जना ( पुष्पा भुसाल र सीताराम महतो), नेकपा माओवादीका २ जना (देव गुरुङ र शक्ति बस्नेत), नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।
विशेष समितिले काम सुरु गरेको१० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।



