२९ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ । एरोथाईको टोलीले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन) गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले परीक्षण प्रतिवेदन शुक्रबार आउने जानकारी पाएको बताए । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका लागि विमानस्थल खुला हुने उनको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता निरौलाले विमानस्थलमा परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमलाई पत्राचार गरिएको जानकारी दिए । साथै कुवेतको जजिरा एयरवेजले पनि परीक्षण उडानका लागि चासो देखाएको उनले बताए ।
यद्यपि पोखरा उड्डयन कार्यालयले आपत्कालीन उद्धार अभ्यास र जनशक्ति व्यवस्थापनको काम सम्पन्न गरिसकेको छ । त्यस्तै रिठ्ठेपानी डाँडा कटानको काम जारी छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थापन, इन्धन डिपो निर्माण लगायतका काम हुन बाँकी छ ।

