
२३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।
फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ ।’
पुनर्वासका क्रममा अमेरिकामा रहेका नेपाली भाषी भुटानी युवा व्यवसायी तथा समाजसेवीले डिल्ली अधिकारीको नेतृत्वमा अमेरिकामा सो फाउण्डेशन स्थापना गरेका हुन् ।
नेपाली भाषा, संस्कृतिको संरक्षण सम्वद्र्धनको उद्देश्यसहित यस फाउन्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नामका दुईवटा ‘रियालिटी शो’ गरेर संसारभरका नेपाली भाषी प्रतिभालाई हालसम्मकै सर्वाधिक (रु एक करोड) राशिको पुरस्कार दिने घोषणा पनि गरेको छ ।