
१९ फागुन, तनहुँ । पछिल्लाे ५ वर्षमा चितुवाको आक्रमणबाट तनहुमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उनले बताए ।
त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिए ।
प्रत्येक पालिकामा पानीको पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उनले बताए ।
खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उनले बताए ।