0 प्रतिक्रिया
अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्छ : विष्णु पौडेल
११ चैत, बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताए ।
पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गरे । ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन’, पौडेलले भने, ‘२०२४/२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’
पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । कार्यविधि स्वीकृत नहुंदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।



