एनसञ्चार संवाददाता, साउन २४, नवलपुर : वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहानसम्म तमोर कोरिडोर (चतरा मुलघाट माझीटार अमरापुरडाँडा गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।

तमोर कोरिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

तानसेन रिडी कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी सहजपुर बुडर स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्ण रूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

बाढी पहिरोका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । डुम्रे बेँसीसहर चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन् ।
यता
काठमाडौं प्रहरी परिसर र महानगर प्रहरीले निकालेको क्षतिको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौं जिल्लामा मात्रै सयभन्दा धेरै घर डुबानमा परेका छन् भने दुई घर भत्किएका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको ढुंगेधारामा घर भत्किंदा एकजना घाइते भएका थिए । यस्तै बाढीकै कारण अन्य घरहरुमा क्षति पुग्दा सोही स्थानमा अन्य २ जना पनि सामान्य घाइते भएका थिए । त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा बाढी पस्दा ५१ वर्षीया कौशिला थापा घाइते भएकी छिन् । सुन्दरीघाटको सुकुम्बासी बस्तीमा बागमती नदी छिर्दा एक जना घाइते भएको प्रहरी परिसरले जनाएको छ । काठमाडौं महाजगरपालिका–२६ मा सामाखुसी खोलाको सतह बढ्दा थुप्रै घर डुबानमा परेको काठमाडौंका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए ।

यसैबिच
नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।