+
+
-- Sponsored Ad --

०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउन प्रचण्डको कार्यकर्तालाइ निर्देशन

126 पटक हेरिएको
Clock २०८१ भाद्र ८, शनिबार १९:०९
-- Sponsored --

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।

‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्‍यो । पहिला लिस्ट बनाउनुपर्‍यो र ती सबैसँग सम्पर्क गर्नुपर्‍यो । उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्‍यो । तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती गर्‍यौं, अहिले हामीले गल्ती सच्यायौं, एकतावद्ध भयौं । अब हामी सुशासन र तपाईहरुको पक्षमा लड्न चाहन्छौं, तपाईहरुले एकचोटी फेरि मद्दत गर्नुस् भन्नुपर्‍यो’, प्रचण्डले भने ।

त्यस्तै ०६४ मा माओवादीलाई मत दिनेहरुका छोराछोरी अहिले आफैं मतदाता भइसकेको भन्दै उनीहरुको पनि खोजी गर्नुपर्ने प्रचण्डले बताए । ‘तिनीहरुको पनि तथ्यांक संकलन गर्नुपर्‍यो, देशभित्र कहाँ छन्, काठमाडौंमा छन् कि मध्यपूर्वमा छन् कि युरोपमा छन् कहाँ छन् पत्ता लगाउनुपर्‍यो र तिनीहरुसँग पनि अपिल गर्नुपर्‍यो’, उनले भने ।

प्रचण्डले विगतमा सशस्त्र युद्ध गर्दाका मिलिसिया र कार्यकर्ता पनि कहाँ छन् खोजी गर्नुपर्ने बताए । पार्टीको पालिकास्तरको समितिलाई उनीहरु देशभित्र र विदेश कहाँ छन् खोजी गर्न निर्देशन दिए ।

‘तपाईं हामी सबै एक भएर लाग्यौं भने ०८४ मा हामी ०६४ को हैसियत प्राप्त गर्न सक्छौं, त्यसपछि यी भ्रष्टाचारीहरु जो अहिले संख्या देखाएर हामीलाई सरकारबाट बाहिर लगेका छन्, यिनीहरुलाई कहिले पनि आउन नदिने वातावरण बनाउन सक्छौं’, उनले भने ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win