नवलपुरमा रहेका गैंडाकाे स्थानान्तरण रोक्न सराेकारवालाहरूकाे दबाब
कावासोती । नवलपुरको पर्यटन व्यवसायी, होटल व्यवसायी, नेचर गाईड, संरक्षणकर्मी, मध्यवर्ती वन व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाले गैंडाको स्थानान्तरण रोक्न दबाब दिने भएका छन् ।
सरोकारवालाको बिहीबार भएको भेलाले गैँडा स्थानान्तरणले जिल्लाको पर्यटन व्यवसाय धरापमा पर्ने, राज्यको फजुल खर्च बढ्ने तथा गैँडाको स्वतन्त्रतापूर्वक हिँडडुल र विचरण गर्न पाउने अधिकार हनन हुने भन्दै स्थानान्तरण रोक्न माग गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट थप ४ वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन) लैजाने तयारी गरेपछि सरोकारवाला विरोधमा उत्रेका हुन् । सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरी पूर्वी सेक्टरमा लैजान सिफारिस गरेको थियो । त्यहीअनुसार ६ वटा गैँडा भने गत वर्षको चैतमै स्थानान्तरण गरी पूर्वी सेक्टर लगिएको छ ।
यसरी एउटै निकुञ्चमा गैँडा विचरण गर्दै पूर्व वा पश्चिम जतासुकै जान सक्ने हुँदा यसमा मानवीय हस्तक्षेप गर्न नहुने छलफलमा सहभागीले बताउनुभयो । कावासोती –११ नं. का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले गैँडा स्वभावैले घाँसे मैदान, शान्त वातावरण र घोल तथा आहालमा बस्न रुचाउने वन्यजन्तु भएकाले निकुञ्जले स्थानान्तरण नभइ वासस्थान व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिनुभयो । यसो गरिएमा गैँडा जङ्गलमै रमाउने भएकाले बस्ती नछिर्ने र स्थानीयलाई आतङ्कित नपार्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष राना मगरले यसरी गैँडा स्थानान्तरण गर्नु उचित नभएको भन्दै संरक्षणका लागि समिति बनाउन आग्रह गर्नुभयो । नेचर गाइड सुदन लम्सालले गैँडा किन गाउँ पस्यो भन्नेबारेमा गहिरिएर अध्ययन गर्नुपर्ने बताउनुभयो ।
संरक्षणकर्मी शङ्कर तिवारीले दुई सयभन्दा बढी गैँडा, बाघ, घडियाल गोहीलगायतका जङ्गली जनावर नवलपुर क्षेत्रमै भएकाले राष्ट्रिय निकुञ्ज बनाउन माग गर्नुपर्ने बताउनुभयो । अपर्याप्त अध्ययनका आधारमा गैँडा स्थानान्तरण गर्न लागिएको भन्दै यसलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।
कावासोती नगरपालिकाका पूर्व उपप्रमुख एवं संरक्षणकर्मी प्रेमशङ्कर मर्दनीयाले राज्यको ढुकुटी खर्च गरेर गैँडालाई आन्तरिक स्थानान्तरण गरे पनि आखिर फर्केर नवलपुरमै आउने भएकाले स्थानान्तरण आवश्यक नरहेको बताउनुभयो । बच्चा जन्माउन र हुर्काउन पश्चिम सेक्टर नै उपयुक्त ठाउँ भएको उहाँको भनाइ छ ।
यो क्षेत्रमा गैँडा, बाघ, हरिण, चितुवा, बँदेल लगायतका जङ्गली जनावर र चराचुरुङ्गी सहजै देख्न सकिने भएपछि यहाँ पर्यटकको उपस्थिति बाक्लिन थालेको पर्यटन व्यवयसायी सङ्घ, नवलपुरका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।
निकुञ्जको तथ्याङ्कअनुसार पश्चिम सेक्टरमा पूर्वी सेक्टरको तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जको पछिल्लो गणनाअनुसार ६९४ गैँडा छन् ।
समन्वय समिति :
गैँडा एवं अन्य वन्यजन्तुको दिगो संरक्षण र व्यवस्थापनका लागि संरक्षण समिति गठन गरिएको छ । समाजसेवी एवं पाका संरक्षणकर्मी विष्णु अधिकारीको संयोजकत्वमा १३ सदस्सीय समिति गठन गरिएको हो ।
समितिको सदस्यमा संरक्षणकर्मीहरु डिबी चौधरी, शंकर तिवारी, लेखनाथ दवाडी, सन्तोष रानामगर, फन्सराम महतो, सन्तोष धिताल, प्रेमशङ्कर मर्दनीया थारु, यमप्रसाद न्यौपाने, सुदन लम्साल, धनीराम गुरौ, नारायण केसी र दिनेश खनाल रहनुभएको छ ।
समितिले गैँडालगायत वन्यजन्तुको संरक्षणका लागि स्थानीय समुदाय, सरोकारवाला निकाय, पर्यटन व्यवसायी तथा चितवन राष्ट्रिय निकायसँग समन्वय गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वैज्ञानिक अध्ययन गर्ने र जुन ठाउँमा उपयुक्त हुन्छ, त्यहीँ संरक्षण गर्न र जनावरको सङ्ख्या बढाउन पहल गर्ने संयोजक अधिकारीले बताउनुभयो ।
पहिलो चरणमा गैंडा स्थानान्तरण रोक्न पहल गर्न नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका सरोकारवालाले दोस्रो चरणमा संरक्षणकर्मीसँग छलफल गरेका हुन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले