कावासोतीमा पछिल्लो समय चोरीका घटनामा सम्लग्न २ जनालाई नवलपुर प्रहरीले नियन्त्रण गरि सार्वजनिक गरेको छ । प्रहरी टोलीले २ जना युवकलाई पक्राउ गरी आज मंगलबार प्रहरी परिसरमा पत्रकार सम्मेलन गरि सार्वजनक गरेको हो । पक्राउ पर्नेमा देवचुली १६ निवासी ३९ बर्षीय मोटे हरि भन्ने हरिजन दर्जी र कावासोती १ निवासी २७ बर्षीय कृष्णबहादुर परियार रहेका छन् भने एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । नवलपुर प्रहरीले नियन्त्रणमा लिएकाहरुसँगबाट खाद्य सामग्री, मोबाइल सेट,टेलिभिजन,भाडाकुडा, सुन, चाँदी र चोरीको समयमा प्रयोग गरिने हातहतीयार समेत बरामद गरेको छ ।
बैशाख २३ गते कावासोती ३ परिवर्तन चोक निवासी नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरा समेत ५ लाख बराबरको धनमाल चोरी गरेको, बैशाख २५ गते कावासोती ५ दशघरे बस्ने मनमाया पाइजामगरको घरबाट टिभी, राइसकुकर, प्रेसर कुक, मिक्सर, कराई, कपसेट, ग्याँस चुलो, चक्कु, बल्याङकेट, काँसको थाल कचौरा गरी ८१ हजार ६ सय रुपैया बराबरको धनमाल चोरी गरेको, जेठ १४ गते कावासोती ६ विष्णुनगर निवासी सरस्वती भुसालको घर घाडामा पसल गरी बस्ने मणि न्यौपानेको पुजा सामग्री पसल र उनकै घरमा भाडा गरी बस्ने खिममाया रानाको कोठाबाट पनि सामन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । यसैगरी जेठ १५ गते कावासोती ६ प्रगतिटोल बस्ने राजु रसाइलीको घरबाट नगद, चाँदी, सुन, सुन तौल गर्ने मेसिन, सुन सफा गर्ने फलामको दाना, जुत्ता, हाल्फ पाइट, टिर्सट, मोबाइल गरी ६ लाख ७६ हजार एक सय रुपैयाँ बराबरको समान बरामद गरिएको थियो भने प्रहरीका अनुसार उनीहरुले पुजा सामग्री पसलबाट नगद, शंख, शिवलिङ्ग, गणेशको मुर्ती, तामाको थाली, पित्तलको थाली, छात्रा, घ्यू, तिलको तेल, अगरबती गरी अन्दाजी २७ हजार बराबरको समान चोरी गरेको थियो भने खिममाया रानाको कोठाबाट मोबाइल, दोसल्ला, खानेतेल, लाइट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी ५७ हजार ८ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । ५ घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले ६ लाख बराबरको धनमाल मात्र बरामद गरेको छ ।