काठमाडौं । सरकारले साउन १ गतेदेखि अन्तरप्रदेश चल्ने सार्वजनिक र मालवाहक सवारीको भाडा मात्र बढाएको भए पनि उपत्यकाभित्र चल्ने साना ठूला सवारीले समेत खुलेआम बढी भाडा असुलीरहेका पाइएको छ ।
सार्वजनिक सवारीले बढी भाडा असुलिरहेको पाएपछि ट्राफिक प्रहरीले अनुगमन तथा कारबाही तीव्र बनाएको छ । सार्वजनिक सवारीको भाडाको सन्दर्भमा अनुगमन गर्नुपर्ने पहिलो कर्तव्य यातायात व्यवस्था विभागको भए पनि विभाग कानम तेल हालेर बसेपछि ट्राफिक प्रहरी महाशाखाले अनुगमन गर्दै आएको महाशाखाका प्रवक्ता सञ्जीवदास शर्माले बताउनुभयो ।
महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म मात्रै बढी भाडा लिने २ सय ४४ सवारीलाई कारबाही गरेको जनाएको छ । बढी भाडा लिने सवारीलाई ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
एउटै सवारीले पटक–पटक बढी भाडा लिएको पाइए पाँच हजार रुपैयाँ जरिवानासहित सवारी जफत गर्नेसम्मका कारबाही गरिने तयारी भएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
महाशाखाको अनुगमन टोलीले १ सय ६८ वटा सार्वजनिक यातायात भित्र टाँसिएका अनधिकृत भाडादरको सूची समेत हटाएको जनाएको छ । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीलाई १ सय ३ नम्बरमा फोन गरेर सूचना दिन समेत महाशाखाले आह्वान गरेको छ ।