एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता भएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ ।
मंगलबार आज काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका हुन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका छन् ।
अब इस्लामिक इमिरेट्स अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भन्न कुनै समस्या नरहेको उनको भनाइ छ । मुजाहिदले अफगानिस्तानले पश्चिमा मुलुकसँगको कूटनीतिक सम्बन्ध कायम राख्ने बताएका छन् । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गर्ने बताएका छन् ।
यसअघि अमेरिकी सेना पूर्णरूपमा अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी सेनाका कमाण्डरले उद्धार गर्न चाहेको सबै मानिसलाई उद्धार गर्न नसकिएको बताएका थिए । अमेरिकी सेना पूर्णरूपमा फिर्ता गएसँगै तालिबानले विजय उत्सव पनि मनाएको थियो ।
यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् ।
सम्बोधनका क्रममा तालिबान नेताहरूले सर्वसाधारणलाई शिष्ट भएर व्यवहार गर्न पनि आग्रह गरेका छन् । अफगान जनता प्रेम र सहानुभूतिका हकदार भएका कारण उनीहरूसँग शिष्ट भएर व्यवहार गर्न नेताहरूले लडाकुलाई निर्देशन दिएका छन् ।