भरतपुरबाट हराएकी गैँडाकोटकी बिना अझैसम्म पनि सम्पर्क विहिन

  • समाचार
  • २०७८ आश्विन ९, शनिबार २२:४५

गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोकबाट हराएकी २१ वर्षीय बिना सापकोटालाई अहिलेसम्म भेट्न सकिएको छैन । छोरीको झझल्को र यादले बिक्षिप्त बनेका बुबा जयश्वर सापकोटा र आमा रिता सापकोटा अझै पनि छोरी फर्कने आशमा नै छन् । उनीहरुले रितालाई देशका विभिन्न ठाउँमा सकेसम्म खोजे तर भेट्न सकेनन् ।

बुबा जयेश्वर सापकोटाले, ‘देशभरका सबै ठाउँमा आफन्तहरु मार्फत् खोजी सक्यौं । तर, कतै भेटिएको छैन । अझै पनि पर्खन्छन् कि भन्ने त लाग्छ ।’ उनले आमा रिता सापकोटा छोरीको पीरले निकै बिक्षिप्त बनेर अहिले बल्ल अलीअली उठेर काम गर्न थालेको बताए । उनले भने, ‘ आमा रिता अहिले बल्लबल्ल अलीअली उठेर काम गर्न थालेकी छन् । नातीसँग भुल्दा अलीअली घटना बिर्सने प्रयास गर्दैै छन् ।’ कतै बेवारिसे लाश भेट्दा पनि कतै छोरी कैको होकि भनेर उनीहरुको मुुटु धड्किन्छ ।

हालसालै रजहरमा भेटिएको बेवारिसे शवलाई डीएनए परीक्षणका लागि काठमाडौँ पठाएको बुबा जयश्वरले बताए । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा भरतपुरको चौबिसकोठीबाट बेपत्ता भएकी थिइन् । उनको प्रेमी प्रवेश कँडेलले बिनालाई गैँडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर उनी प्रवेशसँग गएकी थिइन् । अहिलेसम्म फर्किएकी छैनन् ।

उनलाई कतै पनि भेटिएको छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको परिवारले बताउँदै आएको थियो । भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि बिनाको प्रेम सम्बन्ध रहेको थियो । दुई वर्षपछि विवाह गर्ने भन्ने चर्चा परिवारमा चलेको थियो । बुबा सापकोटाले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका थिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयले यस घटनामा सबै अनुसन्धान सकेर अदालतमा पेस गरेको थियो । अहिले चितवन जिल्ला अदालतले घटनाका मुख्य आरोपी प्रवेश कँडेललाई तारेखमा छाडेको छ । चितवन प्रहरी प्रवक्ता सूर्य थापाले अहिलेसम्म बिना सापकोटा नभेटिएको बताए । उनले भने, ‘हामीले सबै अध्ययन सकेर घटना अदालतमा गएको हो । अहिले के भइरहेको छ ।

हामीलाई थाहा छैन ।’ २१ वर्षीया बिना गैँडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । हराउनु अघि बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी थिइन् । प्रवेशले पनि फेसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका थिए । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट थियो तर बेलायत फर्कनु अगाडि चितवन प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको थियो । प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे ।

बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् । चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका थिए । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका थिए ।

साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर बुबा जयश्वरलाई आएको थियो । युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका थिए । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका थिए । जयश्वर र प्रवेशले राति २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अध्ययनकै क्रममा बिना फटाफट हिड्दै पुलचोकतिर गएको नारायणगढको सीसी क्यामरा फुटेजमा देखिएको थियो ।

असोज १४ गते उनी हराएको तीन महिना पुग्छ । अहिलेसम्म बिनाको अत्तोपत्तो नहुँदा बिनाका बुबाआमा कि लाश त कि श्वासको खोजीमा झनै पीडामा दिन कटाइरहेका छन् । नारायणी अनलाईनबाट

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *