कृषकको गुनासो : उत्पादन बढ्यो बजारीकरण भएन

 
कावासोती , असोज २० ।। तरकारी उत्पादक किसानहरुको मुख्य समस्या नै बजारीकरण रहेको किसानले गुनासो गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना , तरकारी जोन संचालन समन्वय समितिको बुधबार कावासोतीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटनशत्रमा बोल्ने किसानहरुले उक्त गुनासो व्यक्त गर्नुभएको हो । तरकारी जोन लगायत विभिन्न संघसंस्थाहरुबाट उत्पादन बृद्धिका लागि कार्यक्रम संचालन गरिए पनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा किसान मर्कामा परेको गुनासो किसानहरुले व्यक्त गर्नुभएको छ ।
नवलपुरमा पछिल्लो समय तरकारीको उत्पादन राम्रो रहेको तर , बजारको अभाव , उचित मुल्य नपाउनु , बिचौलियालाई बिक्री गर्नुपर्ने बाध्यता , चिस्यानकेन्द्र नहुनु लगायतको समस्याले किसानहरु सधैँ मारमा परिरहेको किसानहरुले गुनासो गर्नुभएको थियो । पछिल्लो समय तरकारी जोन कार्यक्रम सञ्चालनपछि कृषि यन्त्र , बीउ बीजन , सिंचाई लगायतमा अनुदान उपलब्ध गराएका कारण किसानहरुले उत्पादनमा बृद्धि गर्न सफल भएको तर , बजार नहँुदा उत्पादित कृषि उपज कहिलेकाहिँ त्यसै खेर फाल्नुपर्ने , लगानी अनुसारको मुल्य समेत नपाउने अवस्था आएको किसानहरुले गुनासो व्यक्त गर्नुभएको थियो । यस्तै प्राकृतिक विपत्ती र रोग किराले क्षती पु¥याउँदा क्षतीपूर्ती नपाईनु , मध्यवर्ती क्षेत्रका किसानले लगाएको खेती जंगली जनावारले सखाप पारिदिने जस्ता समस्याबाट यहाँका किसान सधैँ मर्कामा पर्ने गरेको बताउनुभएको थियो । किसानहरुले यी विविध समस्याको दीर्घकाली व्यवस्थापनतर्फ समेत स्थानीय सरकार र सम्बन्धीत सबै निकायले योजना र नीति बनाउनुपर्ने माग समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले उत्पादित कृषि उपजको बजारीकरणका लागि नीति नै बनाउनुपर्ने आवश्यकता रहको बताउनुभयो । कृषिका सम्बन्धीत संघसंस्था र स्थानीय सरकारबिच समन्वय हुन नसक्दा पनि बजारीकरणमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले वैठक बसेर नवलपुर जिल्लाका सबै कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न एउटा कार्यविधि बनाउनुपर्छ भनेर कार्यविधी निर्माण गरिसकेको जानकारी दिनुभयो । ओसारपसार गर्ने कर्मचारी समेतको व्यवस्था गर्ने , एउटै दररेट कायम गर्ने , अवस्था हेरेर वर्गिकरण गर्ने लगायतका विषय कार्यविधीमा समेटेको उहाँले जानकारी दिनुभयो । कार्यविधी नै निर्माण गरेर बजारको व्यवस्थापन गर्नतर्फ लागेमा किसानले उत्पादन गरेका वस्तु खेर नजाने र उचित मुल्य समेत पाउने उहाँले बताउनुभयो । कावासोती नगरपालिकाले यस वर्ष कृषि क्षेत्रमा एक करोड पाँच लाख रुपिँया बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । दुधमा अनुदान , माछा पालनमा अनुदान , कृषि यान्त्रीकरणमा अनुदान जस्ता कार्यक्रम नगरपालिकाले गत वर्ष गरेको र यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना , परियोजना कार्यन्वयन ईकाई नवलपुरका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले जोन कार्यक्रमको प्रगती गण्डकी प्रदेशमै उत्कृष्ट रहेको जानकारी दिनुभयो । उहाँले नवलपुरमा सुन्तलाजात फलफुल र तरकारी जोन कार्यक्रम सञ्चालन रहेको र कार्यक्रमको प्रगती अनुसार नवलपुर जिल्ला गण्डकी प्रदेशमा पहिलो र देशमा पाँचौ स्थानमा रहेको बताउनुभयो । कृषिको क्षेत्र विस्तार गर्दै किसानलाई व्यवसायीमुखी बनाएर उत्पादनमा बृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले यो परियोजना लागु भएको उहाँले बताउनुभयो । जस अनुसार जिल्लामा जोन कार्यक्रम मापत् प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने , निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने मुख्य उदेश्य रहेको बताउनुभयो । १० वर्षे कार्यक्रम भएकाले आउँदा दिनमा बजारीकरणको समस्यालाई समेत निकारकरण गर्न परियोजनाले नीति बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । कावासोती , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न वडाहरुमा तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोनमा विभिन्न कृषि फर्म , कृषि सहकारी , कृषक समूह , कृषकहरुको सहभागिता रहेको छ ।
यसैबीच बन्दशत्रले नयाँ कार्यसमित चयन गरेको छ । संयोजकमा चुडामणी थनेत चयन हुनुभएको छ । सदस्यहरुमा थमन रजाली , सीता पंगेनी , देवी घिमिरे , विमला कुँवर , रुपा राना , तारा प्रसाद भट्टराई , नारायण लामिछाने र फणी नारायण महतो चयन हुनुभएको छ ।