बारमा दुई वकिलको भिडन्त, चोलेन्द्रविरुद्ध आन्दोलनको घोषणा : आठ इजलासमा पेसी ताेकिए, सुनुवाइ शून्य

कात्तिक १२, काटमाडौं ।। न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ । शुक्रबार नेपाल बार एशोसिएसनको परिसरमा भूमिनन्द चुडाल र विराट न्यौपानले एक आपसमा कुटपिट गरेका हुन् । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् । अधिवक्ता चुडालले प्रधानन्यायाधीशले किन राजीनामा दिने भन्ने अभिव्यक्ति दिएपछि अर्का अधिवक्ता न्यौपानेले आक्रमण गरेको बताइएको छ ।

यता नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक  १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

आठ वटा इजलासमा पेसी सुनुवाइ शून्य

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन।           

पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुँडालको संयुक्त इजलास तोकिएको थियो। उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ। आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए। सोमबारदेखि त मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ।

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन्।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। जसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन्।