चोलेन्द्रको पत्र बारलाई, अमेरिकाको चेतावनी प्रचण्डलाई

१. वार्ताका लागि प्रधानन्यायाधीशले पठाए नेपाल बारलाई पत्र
मंसिर ३, काठमाडौं ।।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन्। बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो। बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए।
बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन्।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए।

२. शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु

शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेदेखि ए डिभिजन लिग सुरु भएको हो।

उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगको विजेताले नगद ७५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

३. एमाले महाधिवेशन : मतदान सकिएको चार घण्टामै नतिजा

नेकपा एमालेको आसन्न दशौँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ।

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि ११ मंसिरमा उम्मेदवारी दर्ता गरिनेछ।

आयोगले १२ मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव आठदेखि १० घण्टा लाग्ने जनाइएको छ ।

आयोगका अध्यक्ष डा. सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन १२ मंसिर बिहानैदेखि मतदान हुने बताए। उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्नेछ। विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए।

‘राम(लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ।  मंसिर १२ बिहानैदेखि निर्वाचन गरेर साँझ मत परिणाम घोषणा गर्नेछौँ, उनले भने, मतदान सकिएपछि मुचुल्का बनाउन दुई(तीन घण्टा र गन्नका लागि तीन(चार घण्टा लाग्नेछ।

४. राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते

सरकारले राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको जानकारी दिएका हुन्।

५. शनिबार माओवादीले ६७ सय ४३ वडामा सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रले शनिबार देशभरका वडाहरूमा सम्मेलन गर्ने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुंगा सावित हुने मा‌ओवादीले जनाएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा तय गरेको छ।

६. प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीले भनेस् एमसीसी नचाहिए फिर्ता लान्छौँ

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता परियोजना एमसीसी पास नभए फिर्ता लैजाने चेतावनी दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँगको भेटमा लुले यस्तो बताएका हुन्। लुले शुक्रबार सिंहदरबारमा प्रचण्डसँग भेट गरेका थिए।

एमसीसी कम्प्याक्ट नेपालको संसदबाट पास गरेर कार्यन्वयन गर्नुपर्ने भएपछि राजनीतिक वृत्तमा धेरै छलफल र विवाद भइरहेको छ। यसै सन्दर्भमा नेपाल भ्रमणका आएका लुले यस्तो प्रतिक्रिया दिएका हुन्।

७. सर्वोच्च अगाडि फेरि तनाव, प्रहरीको कुटाइबाट अधिवक्ता घाइते

सर्वोच्च अदालत परिसरमा आन्दोलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेको छ। यसक्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन्।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले लक्ष्मीमाथि अन्धाधुन्ध बुट प्रहार गरेको थियो। केही बेरको धकेलाधकेलपछि सर्वोच्च गेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका थिए।

यसअघि हिजो सर्वोच्च परिसरमा प्रहरीले लाठी चार्ज गरी एक दर्जन कानुन व्यवसायीलाई घाइते पारेको थियो। बारका वकिलमाथि २५ कात्तिकमा पनि प्रहरीले दमन गरेको थियो। त्यस दिन बारले सर्वोच्च परिसरमा गरिरहेको कार्यक्रममा प्रहरीले धरपकड गर्दा नेपाल बारका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्यालसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका थिए।

८. एकीकृत समाजवादीलाई दुइटा मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा एसलाई दिएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नेकपा एसका अध्यक्ष माधव नेपाल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतबीच भएको छलफलपछि ती दुवै मन्त्रालय नेकपा एसलाई दिएर सरकार विस्तार गर्ने निर्णय भएको हो।

९. बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी

सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ।

शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए।

‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ। यसमा छिट्टै नै काम हुन्छु, सचिव गौतमले भने।