एमाले महाधिवेशनः २५० स्वास्थ्यकर्मी परिचालन हुने, आपत्कालीन समस्या आइपरे निःशुल्क उपचार

१. एमाले महाधिवेशनः २५० स्वास्थ्यकर्मी परिचालन हुने, आपत्कालीन समस्या आइपरे निःशुल्क उपचार
मंसिर ५, चितवन ।।
नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा २५० भन्दा बढी चिकित्सक परिचालन गरिने भएको छ।

महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ। स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन्। समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ। समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको संयोजक ढकालले बताए। आवश्यक सङ्ख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ।
महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको छ। बन्दसत्रका लागि सेभेन स्टार होटेल नजिकै रहेको लायन्स क्लबको भवनमा चारवटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

समितिमा रहेका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाएका छन्। फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहनेछन्।

समितिले होटेलमा रहेका प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेक्स राखिने ढकालले बताए। नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ। जस्तैः सुगर, प्रेसरका औषधि छुटेका प्रतिनिधिहरुलाई सहजै उपलब्ध गराइनेछ।

आमसभा वा बन्दसत्रका लागि निर्धक्कसँग आउनेजाने र स्वास्थ्यको जोखिम नहुने गरी व्यवस्थापन गरिएको संयोजक ढकालले बताए। “महाधिवेशन नसकिँदासम्म स्वास्थ्य सेवा प्रवाहित गर्छौं,” उनले भने, “सामग्रीहरुको सपोर्ट केन्द्रबाट हुन्छ, चिकित्सकहरु स्थानीय नै रहनुहुनेछ।” कोभिड–१९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने संयोजक ढकालले बताए। “सचेत पङ्क्ति नै आउने भएकाले मापदण्ड पालना हुनेमा दुईमत छैन”, उनले भने।

खुल्ला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ। विदेशबाट आएका प्रतिनिधिलाई सम्बन्धित देश फर्कंदा पिसिआर परीक्षण सहजरुपमा गराउने व्यवस्था पनि समितिले नै मिलाएको जनाइएको छ।

२. एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णय अनुसार चल्ने बताएका हुन्।

उनले भने, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए। अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको बताए।

फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए। धुर्मुस–सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले भने, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस् भनेको छु।”

३. सर्वोच्च अदालतमा आज अधिकांश इजलासमा सुनुवाइ
सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए। तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो। तीमध्ये नौ वटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ। न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा बेच्न नबसेको देखिएको छ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक ९फूलकोट० ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन्।

४. चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा सकारात्मक हुन सकेन मुलुकको वित्तीय सूचक
चालु आर्थिक वर्ष २०७८र७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक देखिएको छैन ।

पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स,निर्यात तथा आयातमा उल्लेख्य सुधार नभएको तथ्याङ्क सार्वजनिक भएको छ। यता,वैदेशिक व्यापार र निर्यातको आँकडा बढ्दा विप्रेषणमा कमी आएको छ । गत मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक छैन । राष्ट्र बैङ्कको तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब रुपैयाँ घाटामा देखिएको छ। गत साउन र भदौ महिनामा १ खर्ब ६ अर्ब रुपैयाँले मात्र घाटा थियो। एक महिनाको अवधिमा नै ४५ अर्ब रुपैयाँले घाटा वृद्धि भएको छ।

५. “ए” डिभिजन लिगस् मनाङ मर्स्याङ्दीको विजयी सुरुआत
डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक “ए” डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १:० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो।

मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे। राष्ट्रिय फुटबल टोलीका रक्षकसमेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे।

पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए। आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन।

बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। ४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो।

खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन्। जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो। ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे।

जीतसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ। यता, जावलाखेल भने हारबाट प्रतियोगिता सुरु गरेको छ।

आजै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३(२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ।

ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे। एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए।

सोमबार दुई खेल हुनेछ। पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ।

६. देउवाले गरेको रामदेवको टेलिभिजन उद्घाटन गैर कानुनी: प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरेका छन् । आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पारेका हुन् ।

गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलि कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिएका छन् ।

७. स्यानेटरी प्याड पाउन थालेपछि नियमित विद्यालय जाने छात्राको संख्या बढ्यो
सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।

स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका(४ का शान्ति बुढालाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल नछुटेको बुढा भन्छिन् । १२ कक्षामा अध्यानरत बुढा विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको उनी बताउँछिन् ।

महिनावारिको समयमा विद्यालय जाँदा साँफेबगर नगरपालिका( ७ रिडिकोटका मनिशा बयकको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन । उनी भन्छिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कतिपल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’

साँफेबगरको श्री सूर्यचन्द्र नमुना माध्यामिक विद्यालयले २०६९ सालदेखि नै स्यानेटरी प्याड वितरण गर्दै आएको छ । विद्यालयमा प्याड वितरण सुरू भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ ।

विद्यालयमा ७६८ विद्यार्थीमध्ये ३६८ जना छात्रा अध्ययनरत छन् । तीमध्ये महिनावारी हुने किशोरीको संख्या करिब २०० छ । उनीहरूलाई विद्यालयले नियमित स्यानेटरी प्याड दिँदै आएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र शाहको भनाइ छ ।

साँफेबगर नगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टका अनुसार २०७६र२०७७ मा प्राप्त भएको २४ लाखमा नगरपालिकाले ५० हजार थान स्यानेटरी प्याड खरिद गरेको थियो । उक्त प्याड नगरपालिका भित्रका १६ वटा माध्यामिक विद्यालय र केही प्राथमिक विद्यालयमा समेत वितरण गरिएको उनको भनाइ छ । यस्तै २०७७र२०७८ प्राप्त भएको २५ लाखमा नगरपालिकाले स्यानेटरी प्याड खरिद गरेको छ भने वितरण गर्न बाँकी छ ।

८. नेकपा र माओवादी एकता वार्ता : नारायणकाजीको निवास पुगे विप्लव
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन् । भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए ।

९. चितुवाको छालासहित चार जना पक्राउ
चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खेतको बराहाताल गाउपालिका –५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित छाम पंचदेवल नगरपालिका– ८ का ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले तीन वटा चितुवाको छाला बरामद गरेको छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।