नवलपुर, मंसीर १३ ।
नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिबेशन अनिश्चित बनेको छ । मंसीर १० र ११ गतेलाई तय भएको अधिबेशन आवश्यक तयारी नपुगेको भन्दै १९ र २० गतेलाई सारिएको अधिबेशन फेरी अनिश्चित बनेको हो । १६ र १७ मंसीरमा आह्वान भएको गण्डकी प्रदेश अधिबेशनको मिति १८ र १९ मंसीरमा सरेसँगै अन्यौलको स्थिति आएको हो ।
कांग्रेस नवलपुरका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले पनि प्रदेशको कार्य तालिका सरेको अनौपचारिक जानकारी पाएको बताए । औपचारिक रुपमा जानकारी आए पछि जिल्ला अधिवेशनको विषयमा निर्वाचन समिति र पार्टीका नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिईने सिग्देलको भनाई छ ।
“ प्रदेश अधिवेशन मंसिर १८ र १९ मा तय भए जिल्लाको मंसिर १९ र २० मा सम्भव छैन, यस विषयमा पार्टीका नेताहरु सँग आवश्यक छलफल गरेर उचित निर्णय लिन्छौ”, सिग्देलले भने ।