ओमिक्रोन भेरियन्ट : नाकामा निगरानी बढाउँदै सरकार, कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि

१. कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि
मंसिर २०, काठमाडौं ।।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ । पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो ।

जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।

उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्कप्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ ।

नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुगेका छन् । पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लागेका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउछन् ।

“तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,”– उनले भन्छन् गोरखा कांग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइपुगेका छन् । दुई कार्यकाल गोरखा कांग्रेसको कुशल नेतृत्व गरिसक्नुभएका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा छन् । घलले सोबार नै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्दैछन् ।

कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका हुन् रु ।

यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउछन् “हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ”, उनले भने ।

कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताए ।

२. बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।

सोमबारसंसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

३. बैंकहरूमा निक्षेप बढ्न थाल्यो: बैंकर्स संघ

केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ। मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ।

संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ।

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ। मंसिर पहिलो साता ७ अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४र१४ अर्ब रुपयाँ लगानी विस्तार गरेका छन्।

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ। पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन्।

४. बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीसहित चार जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पाटन(७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन्।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

मनिषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ। उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।

दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ। जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन। चालक फरार रहेका छन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ।

५. ओमिक्रोन भेरियन्ट : नाकामा निगरानी बढाउँदै सरकार

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । हिजो आइतवार (मङ्सिर १९) गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो पटक भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरूमा कुनै लक्षण नभएको बताउनुभयो । सह प्रवक्ता अधिकारीकाअनुसार सङ्क्रमित दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका र उनीहरूको सम्पर्कमा आएकाहरूलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिएको छ । यो भेरियन्ट अहिलेसम्म ३५ देशमा पाँच सय ७४ जनामा पुष्टि भएको छ । यिनै कुरालाई मध्यनजर गरेर नेपालमा विदेशबाट आउने मानिसहरूमा स्वास्थ्य अवस्था गम्भीर हुन सक्ने, अरू व्यक्तिमा सङ्क्रमण सर्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । अहिले विदेशबाट आउने व्यक्तिहरूलाई क्वरेण्टीनमा राख्ने परीक्षण गर्ने, रिपोर्ट पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामलाई बढाएका छौँ ।’

सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकामा निगरानी बढाएको बताउनुभयो । उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरस सरह नै भएको बताउनुभयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्न मास्क लगाउने, सरसफाइमा ध्यान दिने, भौतिक दुरी कायम गर्ने, हात धुने काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैया र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीका अनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका सङ्क्रमित बढिरहेकाले नेपालमा पनि सङ्क्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरूलाई क्वरेण्टीनमा राख्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा सङ्क्रमण बढ्नबाट रोक्न सकिने बताउनुभयो ।

६. साफ यू–१९ फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सोमबार साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न जाने २३ सदस्यीय टोलीलाई बिदाइ गरेको छ ।

बंगलादेशको ढाकामा शनिबारदेखि हुने प्रतियोगिताका नेपाली लागि टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।
मंसिर २५ गतेबाट पुस ७ गतेसम्म सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहने छ ।

नेपालले प्रतियोगिताको पहिलो खेल घरेलु टोली बंगलादेशविरुद्ध खेल्नेछ । दोस्रो खेलमा २९ गते श्रीलंका, पुस २ मा भुटान र पुस ४ मा भारतको सामना गर्नेछ ।

लिगका शीर्ष दुई टोली पुस ७ गते उपाधिका लागि भिड्ने छन् ।

एन्फाले पहिलो चरणमा बोलाएको ४० खेलाडीबाट प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा गत शुक्रबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो ।

नेपाली टोलीमा राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरसहित ६ खेलाडी समावेश छन् ।

यस्तै रक्षक रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यसअघिको यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

७. प्रहरी नियमावली संशोधनः पदकको अंक ज्येष्ठतामा थपियो, जवानलाई १६ वर्षमा पेन्सन

सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ । अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ ।
प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।

‘पदक विवादमा आएपछि आईजीपीसा’ब र गृहसचिवको पहलमा नियमावली संशोधन गरेर २ अंक हटाइएको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘यसले गर्दा संगठनलाई धेरै राम्रो हुन्छ ।’

पदकको अंक घटाउँदा तल्लो तहका अधिकृतदेखि विशिष्ट श्रेणीका अधिकृतहरू पदक पाउनका लागि नेताहरूको घरदैलोमा धाउने र उनीहरूको चाकडी गर्ने परम्पराको अन्त्य भएको ती अधिकृतले बताए ।

‘पदकबाट काटिएको २ अंक ज्येष्ठतामा थपिएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसले गर्दा प्रहरीमा पदकका लागि मारामार गर्ने अवस्थाको अन्त्य भएको छ ।’

प्रहरी नियमावली– २०७१ को दफा ३७ को उपदफा २ मा मानपदवी बापत २ अंक पाउने व्यवस्था गरिएको छ । अब त्यो अंक काटिएपछि त्यसबापतको अंक दफा ३० को उपदफा ९२० ९ख० मा ज्येष्ठताबापतको २० अंकमा थपिएको छ । अब ज्येष्ठतामा २२ अंक उपलब्ध हुनेछ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नियमावली संशोधन भइसकेको छ, तर केही प्रावधान थप गर्नुपर्ने भएकाले बाहिर आएको छैन ।

प्रहरी जवानले १६ वर्षमा पेन्सन पाउने

निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा जवानहरूले १६ वर्षमा पेन्सन पाउने व्यवस्था गराएपछि प्रहरीमा पनि सोही व्यवस्था गर्नुपर्ने माग संगठनभित्र उठेको थियो ।

त्यसैलाई मध्यनजर गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहसचिव टेकनारायण पाण्डेले जवानहरूको पेन्सन १६ वर्षे बनाउन लागेको गृह स्रोतले लोकान्तरलाई बतायो ।

यो विषयलाई पनि संशोधन गरेपछि एकमुस्ट रूपमा सार्वजनिक गर्ने उद्देश्यका साथ यसअघि गरिएको संशोधनलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

‘आईजीपीुसापको सिफारिश तथा गृहसचिव हुँदै उक्त प्रस्ताव विधान समितिमा गएको छ, अब केही समयमा त्यो पनि मन्त्रिपरिषद्बाट पास हुने अवस्थामा छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सम्भवतः अबको मन्त्रिपरिषद्ले त्यो पारित गर्छ होला ।’

त्यति मात्र होइन, प्रहरीको जुनियर अधिकृतले १८ वर्ष र सिनियर अधिकृतले २० वर्षमा पेन्सन पाउने व्यवस्था हुन लागेको स्रोतले बतायो ।

असई र इन्स्पेक्टरमा खुला ५०, आन्तरिक बढुवा ५० प्रतिशत

प्रहरी सहायक निरीक्षक ९असई० र प्रहरी निरीक्षक ९इन्स्पेक्टर०को पदपूर्ति ५० प्रतिशत आन्तरिक बढुवा र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था गर्न लागिएको छ ।

प्रहरी नियमावली २०७१ को दफा ९ मा आन्तरिकतर्फबाट ४० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ६० प्रतिशत पदपूर्ति हुने व्यवस्था थियो ।

८. २४ घण्टामा थपिए २६५ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ नमूना परीक्षणमध्ये २३८ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५४३ पुगेको छ ।

मन्त्रालयका अनुसार थप ३५७ जना संक्रमणमुक्त भएका छन् ।

९. राष्ट्रिय ध्वजावाहकले पायो खतराजन्य पदार्थ ओसारपसार अनुमति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।

निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसार पसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ ।

निगमको वाइड बडी ए३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीय सामानलगायतका सामानहरुको ओसारपसारमा सहजता हुनेछ भने उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले विश्वास लिएको छ ।

उक्त अनुमति पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आईकाओ०ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ ।

सो अवसरमा पर्यटनमन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र यसले खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने तथा निगमलाई पनि आर्थिकरूपमा नाफा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मन्त्रालय र मातहत निकायमा अनावश्यक खर्च कटौती गर्दै आर्थिक मितव्ययिता अपनाएको बताउनुभयो । पर्यटनमन्त्री आलेले अर्बौँको घाटा बेहोरिरहेको निगमलाई वित्तीय सुधार गरी उपलब्ध स्रोत साधनको यथोचित प्रयोग गरेर आर्थिकरूपमा सुदृढ बनाउने दिशामा अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको संस्था हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ, हामी चाहान्छौँ कम भन्दा कम खर्च गरेर नेपाली ध्वजाबाहक जहाज नाफामा जाओस् ।”

अहिले पनि निगमलाई रु ५० अर्बभन्दा बढी ऋण रहेको छ । नौ प्रतिशत ब्याज तिरिरहनुपर्ने बाध्यता छ । निगमलाई किस्ता तिर्न र ब्याज तिर्न पनि समस्या परिरहेको छ । आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार गर्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । पर्यटनमन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गर्दै प्राधिकरण र निगम दुवै संस्थालाई बधाईसमेत दिनुभयो ।

प्राधिकरणका महानिर्देशक क्षेत्रीले लामो समयदेखि अड्किएको खतराजन्य वस्तु ओसारपसारसम्बन्धी अनुमति प्राप्त गरेकामा निगमलाई बधाई ज्ञापन गर्दै व्यावहारिक कार्यान्वयमा जोड दिनुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले विगत ६३ वर्षदेखि हालसम्म निगम जेनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकामा आगामी दिनमा खतराजन्य पदार्थअन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विगत छ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमका लागि यो सेवाले आर्थिकरूपमा पनि निकै राहत मिल्नेछ । पर्यटनमन्त्रीको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य वस्तु ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।