गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हो: माधव नेपाल, ओमिक्रोन भित्रिन नदिन (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता, सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– ‘एमसीसी पास गरौँ’, माओवादी र नेकपा एसको विरोध

एन सञ्चार, पौष ४, काठमाडौं ।।

१. गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हो: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन् ।

आइतबार राजधानीमा समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले एमालेमा बसेकाहरू अहिले पछुताइरहेको जिकिर गर्दै भने ‘केपी ओली गुठमा बसेकाहरु अहिले पछुताइरहेका छन् । गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हुन् । पानीजहाज देखी पाइपबाट ग्यास ल्याउनेसम्मका गफ लगाउँछन् । धन्न एमालेका अध्यक्ष भएछन् र प्रधानमन्त्री हुन पाए ।’

उक्त कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रमा आबद्ध व्यक्तिहरूले नेकपा (एकीकृत समाजवादी) सँग आबद्ध भएर ५१ सदस्यीय समाजवादी शैक्षिक परामर्श मञ्च गठन गरेका हुन् । मञ्चको अध्यक्षमा प्रकाश पाण्डे रहेका छन् ।

त्यसैगरी उद्योग व्यवसायी महासंघको इलाका स्तिरक कमिटीको अध्यक्षको जिम्मेवारी नारायण देवकोटाले पाएका छन् ।

२. संसदबाट एमसीसी पारित गराउने कांग्रेस सहमहामन्त्री परियारको दाबी

सत्तारुढ नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दाबी गरेका छन् ।

सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतिमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरूलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताए । उनले भने, ‘एमसीसी नेपालमा झण्डै २० वर्ष अगाडिदेखि एमसीसीको बजेट नेपालमा आउन विभिन्न खालका सरकारहरूले काम गरेका छन् । यो काम गर्ने सन्दर्भमा नेपालको कुनै पनि राजनीतिक दल अछुतो छैन । त्यसैले गर्दाखेरी म छोटकरीमा भन्न चाहन्छु–एमसीसीले नेपालमा जुन डोनेट गरेर आएको पैसा हो । त्यो पैसा नेपालको विकास र समृद्धिका लागि आएको पैसा हो । यो पैसाको सन्दर्भमा सरकारले जुन खालका सम्झौंताहरु गरेको छ । यदि त्यो सम्झौतामा नेपालको अहित हुने गरी कुनै किसिमको प्रावधान छन् भने हटाउनु पर्छ । त्यसमा हाम्रो पार्टी नेपाली काँग्रेस अत्यन्त प्रतिबद्ध छ । काम गर्दाखेरी कमजोरी हुन सक्छन् । यदि कमजोरी भएको छ भने ती शब्दावलीहरू, बूँँदाहरु हटाएर सबै दलहरूसँग परामर्श गरेर त्यसलाई संसदबाट पारित हुन सक्ने गरी छलफल गरेर नेपाली काँग्रेसले एमसीसीको प्रस्तावलाई अगाडि बढाउँछ । जहाँसम्म गठबन्धनको कुरा जोडिएको छ । गठबन्धनमा रहेका दलहरूले पनि सहमति जनाएर मात्रै एमसीसी पास हुन्छ । संसदमा पेस हुने कुरा ठुलो कुरा होइन । कुनै पनि विधेयक संसदमा पेस हुन सक्दछ । विधेयकहरू पेस भए पनि त्यहाँबाट सहमति नगरीकन पास हुँदैन, संसदमा । त्यसका लागि गठबन्धनमा रहेका सम्पूर्ण दलहरूलाई एक ढिक्का भएर त्यति मात्र होइन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको समेत सहमति गराएर मात्रै एमसीसी पास हुन्छ । यो कुरामा म विश्वास दिलाउन चाहन्छु ।’

सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यकताको आधारमा सहकार्य हुने पनि स्पष्ट पार्नु भयो । सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरुबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उनको टिप्पणी थियो ।

३. ओमिक्रोन भित्रिन नदिन (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता

केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताइन् ।

“हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेका छौँ”, उनले भनिन् “सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएका छौँ ।” त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उनको भनाइ छ ।

“त्रिवेणी भन्सार हुँदै यात्रु मात्रै आवातजावत गर्दैछन्, मालवाहक सवारीसाधन यो नाकाबाट भित्रिएका छैनन्”, प्रजिअ पङ्गेनीले भनिन् “२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भन्ने सुनेका छौँ, त्यसपछि यो नाकामा अझै कडाइ गर्नेछौँ ।” त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको बताइन् ।

कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उनको भनाइ छ । जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताइन् । बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिइन् ।

कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भन्दै उनले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको बताइन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले आइतबारदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको बताए ।

यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने उनको भनाइ छ । उनकाअनुसार माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइनेछ । जिल्लामा हालसम्म १८ वर्षमाथिका ८५ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका कार्यालय प्रमुख चापागाईंले बताए । उनकाअनुसार हालसम्म खोपको पूरा मात्रा लगाउनेको सङ्ख्या एक लाख १० हजार तथा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८५ हजार रहेको छ ।

खोपको पहिलो मात्रा लगाएका १८ वर्षमाथिका नागरिकलाई माघको पहिलो हप्ताभित्र दोस्रो डोजसमेत लगाइ सक्ने गरी तयारी भइरहेको उनको भनाइ छ । जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईले बताए । जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यसपटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईंले बताए । “पहिलो लहरमा जस्तो यसपटक अक्सिजनको कमी हुँदैन”, प्रमुख चापागाईले भने “हामीसँग पर्याप्त अक्सिजन, कन्सन्ट्रेटरलगायत सामग्री छन् ।” कोरोना फैलिन नदिनका लागि सचेतनासँगै स्थानीय तहका स्वास्थ्य संस्थालाई उच्च सतर्कता गराइएको बताए ।

४. चितवन उद्योग सङ्घद्वारा औद्योगिक पाठशाला सुरु

नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे कार्ययोजनाअन्तर्गत १० वटा पाठ्यपुस्तक तयार गरी नियमित रुपमा कक्षा सञ्चालनको योजना बनाएको छ । सोही योजनाअन्तर्गत सङ्घले २० जनालाई व्यावसायिक योजना लेखन कक्षा दिएको छ । व्यावहारिक र सैद्धान्तिक शिक्षाबीचको अन्तरलाई पूरा गर्नका लागि औद्योगिक पाठशाला सञ्चालन गरिएको हो ।

नयाँ उद्योगी बन्न चाहने र उद्यमशिलतामा रहेकालाई प्रवद्र्धन गर्नका लागि यो कक्षा सहयोगी बन्ने उनले बताए । सङ्घले कारखाना, बजार र उधारो व्यवस्थापन, प्याकेजिङ, लेवलिङ, ब्राण्डिङ, बेसिक एकाउण्टिङ, फाइनान्सियल एकाउन्टिङ, मानव संशाधन व्यवस्थापन, नयाँ उद्यम तथा उद्यमशिलता विकास र वित्तीय व्यवस्थापनका लागि पाठ्यक्रम निर्माणको काम गरिरहेको छ ।

सङ्घले यी पाठ्यक्रम निर्माणका लागि रु १० लाख खर्च लाग्ने अनुमान गरेको छ । पाठ्यक्रम निर्माणका लागि जिल्लाका सात पालिका, सङ्घीय सरकार उद्योग मन्त्रालय, प्रदेश सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिएको सिलवालले बताए । उनका अनुसार पाठ्यक्रम निर्माणसँगै सम्बन्धित विषय विज्ञ र उद्यमशिलतामा लागेका पुराना व्यवसायीले प्रशिक्षण दिने गरेका छन् ।

एकपटकमा २० देखि ३५ जनासम्म राखेर पठनपाठन गराइने औद्योगिक पाठशालामा सहभागी प्रशिक्षार्थीलाई क्षमता अभिवृद्धि गर्दै दिगो उद्यमशलितामा टिकाई राख्न, रोजगारीको सिर्जना र नयाँ उद्यमी सिर्जनामा सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले पाठशाला औद्योगिक शिक्षालय सञ्चालनका लागि आधार तय गर्नका लागि सञ्चालन गरिएको बताए । उनले भने “बजारमा मागको आवश्यकता विश्लेषण गरी आन्तरिक रुपमा पाठ्यक्रम निर्माणको काम गरिएको छ ।” नेपालमा नै पहिलो पटक पाठशाला सञ्चालनमा ल्याइएको हो ।

औद्योगिक पाठशाला तीन दिनदेखि एक महिनासम्म सञ्चालन हुनेछ । चितवन उद्योग सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गर्न मिल्ने गरी आधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको छ । केन्द्रमा हालसम्म छ वटा प्रदर्शनी गरिसकिएकोे छ ।

५. नेपाल भारतसँग पराजित, फाइनलका लागि बङ्गलादेश र श्रीलङ्काको खेलमा भर पर्नुपर्ने

नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो ।

नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ । नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ । तर श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न असफल हुनेछ । गोल अन्तरमा नेपाल बङ्गलादेश भन्दा अघि रहेको छ ।

नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो भने श्रीलङ्का र भुटानलाई हराएको थियो ।

६. सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– ‘एमसीसी पास गरौँ’, माओवादी र नेकपा एसको विरोध

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेता सहभागी थिए । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले साना दललाई आफ्ना भनाइ राख्न अनुरोध गर्नुभएको थियो । त्यसपछि नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने विचार राखेका थिए । नेमकिपाका सांसद प्रेम सुवालले एमसीसीको बारेमा आफ्नो पहिलेकै अडान दोहोर्‍याउँदै पास गर्नै नहुने बताउनुभएको थियो ।

त्यसपछि बोल्नुभएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यो विषयलाई संसदमा निर्णयका लागि पेस गरेपछि मात्रै आफूहरूले निर्णय गर्ने बताउनुभयो ।

एमसीसीको विषयमा साना दल मात्रै बोल्ने तर ठूला दल नबोलेर उम्किन खोजेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले नै प्रधानमन्त्रीलाई आग्रह गरेर ठूला दलका नेतालाई बोल्न लगाउन भन्नुभएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग फिर्ता पठाउने पक्षमा आफू नरहेको तर एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानलाई संशोधन गर्नुपर्ने बताउनुभयो । प्रचण्डले सम्झौता रद्द गर्दा र फिर्ता पठाउँदा नेपालको छवि बिग्रने भन्दै संशोधन गर्नुपर्ने बताउनुभएको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता वेदुराम भुसालले पनि संशोधनविना एमसीसी पास हुनै नसक्ने बताउनुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट पारित गराउनुपर्ने बताउनुभएको थियो ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अब निर्णयार्थ संसदमा पेस गर्नुपर्ने र ‘जे गर्नुपर्ने हो त्यहीँ गरौँला’ भनेपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउनुभएको थियो । सत्ता गठबन्धनमा सहमति नजुटाइकन एमसीसी संसदमा निर्णयार्थ पेस गर्नै नहुने श्रेष्ठको भनाइ थियो ।

बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र डा. रामशरण महतले पनि एमसीसी तत्काल पारित गर्नुपर्ने बताउनुभएको थियो ।

७. सर्वदलीय बैठकमा गगन र पूर्णबहादुर उपस्थित तर धनराज र विश्वप्रकाश छैनन्

संसद्को गतिरोध अन्त्य गर्न बालुवाटारमा सर्वदलीय बैठक जारी छ । लगातार संसद् अवरोध गर्दै आएको दल नेकपा एमाले भने बैठकमा सहभागी छैन ।

जारी बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति तथा प्रधानमन्त्री देउवासँगै नवनिर्वाचित महामन्त्री गगन थापा र उपसभापति पूर्णबहादुर खड्का उपस्थित छन् । थापा शीर्ष नेताहरू उपस्थित हुने बैठकमा महामन्त्री बनेपछि पहिलोपटक सहभागी भएका छन् । उनी हालै सम्पन्न १४ औं महाधिवेशनबाट डा। शेखर कोइरालको प्यानलबाट निर्वाचित भएका थिए । देउवा प्यानलबाट निर्वाचित भएका खड्का भने यसअघिका बैठकमा सहभागी हुँदै आएका थिए ।

उता, दुई उपसभापति र महामन्त्रीमध्ये शेखरकै प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र प्रकाशमान सिंहको प्यानलबाट निर्वाचित विश्वप्रकाश शर्मा भने बैठकमा उपस्थित छैनन् । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूको सहभागिता रहेको छ ।

८. हुम्लामा अन्तरजातीय बिहे गरेको भन्दै दलित युवालाई घरबाटै बेपत्ता बनाइयो

हुम्लामा उपल्लो जात (मल्ल) थरकी युवतीसंग प्रेम विवाह गरेको भन्दै एक युवालाई बेपत्ता पारिएको खुलेको छ ।

गत मंसिर २९ गते रातिबाट सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई बेपत्ता पारिएको खुलेको हो ।

चन्द्रेले दुई महिनाअघि मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग प्रेम सम्बन्ध हुँदै अन्तरजातीय विवाह गरेका थिए । उनीहरु विवाहपछि भागेर सर्केगाडस्थित रिप गाउँमा आफन्तकहाँ लुकेर बसेका थिए ।

युवतीका माइतीपक्षले सुरुदेखि नै चन्द्रेको खोजी गर्दै आएको खुलेको छ । दुई महिनापछि चन्द्रेसँग माइतीपक्षको सम्पर्क भएको र आफूहरुले केही नगर्ने भन्दै सम्पर्कमा बोलाएको खुलेको छ ।

उनीहरु सम्पर्कमा आएपछि केटालाई युवती पक्षले निर्घात कुटपिट र अमानवीय शैलीमा लगेको वडाध्यक्ष गोकुल बुढाले बाह्रखरीलाई बताए । सोही दिनदेखि चन्द्रे बेपत्ता छन् । युवती भने माइतीघरमा छन् ।

९. बैंकहरूले ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने उद्योगीको चेतावनी

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अत्याधिक र असामान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप परिसंघले लगाएको छ ।

परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरूको ज्यादतीको विषयमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले २० करोडको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रूपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले समेत व्यापारमा असर परेको बताए ।