0 प्रतिक्रिया
चितवनका सिडिओ विवादमा मुछिएको माछाको मूल्य : म ठगिएपछि बिल माग्न गएको हुँ: सिडिओ तामाङ, कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै
एन सञ्चार, २० पुषः
१. कराँतेमा नेपाललाई चार स्वर्ण
बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनशिपमा नेपालले सितोरियो कराँतेमा चार स्वर्ण पदक जितेको छ ।
बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको यस प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एकरएक स्वर्ण प्राप्त गरेका छन् । डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन् ।
पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको टोली व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ । पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् ।
त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्काले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना बुढाथोकीले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् । यो च्याम्पियनशिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
२. ‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीको आपत्ति
नेकपा माओवादी केन्द्रले ‘जनयुद्धकालीन मुद्दा’मा आफ्ना तीन कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।
मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई ‘जनयुद्धकालीन मुद्दा’ पक्राउ गरी बन्दी बनाएपछि माओवादीले आपत्ति जनाएको हो ।
सो घटनालाई लिएर माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको छ ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क। झलक भगत, गोरखाका क। विक्रम गुरुङ र कालिकोटका क। सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
माओवादी महाधिवेशनले ४५ वटा समसामायिक प्रस्ताव पारित गर्ने क्रममा उक्त पक्राउ घटनालाई सम्बोधन गरेको हो ।
३. भोलिदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, ‘सतर्कता अपनाऔँ’
भोलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्ने उहाँले बताउनुभयो । आइतवारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा आज र भोलि कम तथा बिहीवार, शुक्रवार र शनिवार बढी प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।
४. फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा धेरै सिरिन्ज नेपाल आइपुग्यो
कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा धेरै सिरिन्ज नेपाल आइपुगेको छ ।
कतार एअरलाइन्सको नियमित उडानमार्फत आज मङ्गलवार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । फाइजर खोपमा प्रयोग हुने शून्य दशमलव तीन एमएलको सिरिञ्ज काठमाण्डौ आइपुगेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
सिरिन्ज अभावकै कारण काठमाण्डौ उपत्यकासहित आठ जिल्लाका बालबालिकालाई यही पुस १३ गतेदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो । फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगे पनि काठमाण्डौ उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ । थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाण्डौ, भक्तपुर र ललितपुरका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने उहाँले बताउनुभयो ।
दुईरतीन दिनभित्रै यी तीन जिल्लाका बालबालिकाका लागि फाइजर खोप दिइने उहाँले बताउनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो ।
५. अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण
संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।
अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो।
नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ।
यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन, यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ । जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन्।
६. कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान स्थगित
कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो सोमवार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । तर दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान स्थगित गरिएको उहाँले बताउनुभयो ।
माघपछि कसरी लगाउने र के गर्ने भनेर फेरि छलफल गरेर मात्र निर्णय गरिने उहाँको भनाइ छ । अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।
अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।
७. कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै
नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा तल झरेको थियो । तर आज सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ६३ जनासहित अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार नौ सय ३७ पुगेको छ । यस्तै थप तीन जनासहित सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय एक पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । थप तीन लाख १६ हजार जनासहित अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
८. नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न मन्त्री आलेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएका छन् ।
मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी। म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न भनी पत्र पठाएको छ ।
बी। म्यानेजमेन्ट प्रालिलाई लेखिएको पत्रमा मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनिएको छ ।
‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।
९. चितवनका सिडिओ विवादमा मुछिएको माछाको मूल्य : म ठगिएपछि बिल माग्न गएको हुँ: सिडिओ तामाङ
चितवनको भरतपुर महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा भारतबाट आयातित माछा प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
भारतका विभिन्न स्थानबाट हप्तौं दिन लगाएर ल्याइएका माछा क्षेत्रपुरमामात्रै होइन जिल्लामा सञ्चालन हुने हाटबजारदेखि सडक किनारमै बसेर पनि खुल्लेआम बिक्री गर्ने गरिएको छ।
स्थानीय रूपमा माछा उत्पादन गरेर बिक्री गर्दै आएका मत्स्य व्यवसायीले आयातित माछामा फर्मालिन नामको औषधी प्रयोग गर्ने गरिएकाले मानव स्वास्थ्यमा असर पर्ने भन्दै त्यस्ता माछा बिक्री रोक्न माग गर्दै आएको वर्षौं भयो।
उनीहरूले चितवनका लागि आवश्यक पर्ने माछा जिल्लामै उत्पादन भइराखेका कारण भारतबाट ल्याइने गुणस्तरहीन माछाको बिक्री नियन्त्रण गर्न प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। तर प्रशासनको नजर भने त्यसतर्फ नभई स्थानीय व्यवसायीले उत्पादन गरेर बिक्री गर्ने माछामा पर्ने गरेको चितवनका मत्स्य व्यवसायी गुनासो गर्छन्।
आइतबार भएको एक घटनाले पनि त्यहीको कुराको संकेत गर्छ।
आइतबार एक महिला सरकारी गाडी चढेर पश्चिम चितवनको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपाल फार्ममा माछा किन्न पुगिन्।
त्यहाँको पोखरीका माछा भरतपुरमा पसलमै सानो पोखरी तयार पारेर जिउँदो माछा राखेर बिक्री गर्ने चितवन फिस हाउसका लुलाराज तामाङले खरिद गरिसकेका थिए। ग्राहक फार्ममै आइसकेपछि सञ्चालक खगेन्द्र सुवेदीले बिक्री भइसकेका माछा मध्येबाट केही झिकेर ती महिलालाई दिने भए।
तामाङको सहमतिमा सुवेदीले केही माछा झिकेर काट्न कर्मचारीलाई अह्राए। माछाको मूल्य प्रतिकिलो तीन सय रुपैयाँ लिइयो।
महिलाले अघिल्लो पटक २ सय ५० रुपैयाँमा दिइएको भन्दै मूल्य घटाउन दबाब दिइन् तर मूल्य घटाउन व्यवसायी तयार भएनन्। उनी तीन सय रुपैयाँका दरले पैसा बुझाएर माछा लिएर हिँडिन्। तामाङ पनि बाँकी माछा लिएर पसल आए।
साँझ पसलमा बसेर काम गरिरहेका बेला प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसहित भरतपुरको रिजाल चोकस्थित चितवन फिस हाउस पुग्यो।
‘सिडिओसाब त महँगोमा माछा बिक्री गरेर कालोबजारी गरेको भन्दै एक्कासी जंगिन थाल्नुभयो। मलाई तथानाम गाली गर्न थाल्नुभयो,’ तामाङले भने, ‘दिउँसो मेरो गाडीबाट माछा झिकेर दिएकी महिला उहाँकी श्रीमती हुनुहुँदो रहेछ।’
प्रजिअ अस्मान तामाङको नेतृत्वमा साँझ ६ बजेतिर पुगेको टोलीले तामाङको फिस हाउसका दुईवटा फ्रिजहरु सिल गर्यो। त्यहाँ रहेका केही माछाको गुणस्तर जाँच गर्न भन्दै लिएर गयो।
‘म त भारतबाट ताजा देखाउन फर्मालिन हालेर माछा बेच्न यहाँ ल्याउँछन् तिनको प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ, बिक्री गर्न दिनुहुँदैन भनेर वर्षौंदेखि आन्दोलनको नेतृत्व गर्दै आएको मान्छे हो। मेरो पसलमा भएका जेसुकै समानको परीक्षण गरियोस् यसमा आपत्ती छैन,’ व्यवसायी लुलाराज तामाङले भने, ‘तर सिडिओ साबको शैली ठीक भएन। व्यक्तिगत स्वार्थका लागि व्यवसायीलाई तथानाम गाली गर्न पाईंदैन।’
उनले यो घटनाले प्रशासन भारतबाट गुणस्तरहीन माछा आयात गर्नेहरूसँग मिलेको देखिएको दाबी गरे।
तामाङले माछा पोखरीबाट थोक मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँमा खरिद गरेर ३ सय ८० देखि ४ सय रुपैयाँसम्ममा काटेर बिक्री गर्ने गरेको बताए।
‘मैले चाहेको भए किनेर गाडीमा हालिसकेको माछा सिडिओकी श्रीमतीलाई पनि ३ सय ८० मै बिक्री गर्न सक्थें। तर खगेन्द्रजीले पनि भन्नुभयो भनेर सस्तोमै दिएर आएँ,’ उनले भने, ‘उहाँलाई २ सय ४० रुपैयाँमै चाहिएको रहेछ।’
माछाको बिक्री मूल्य नेपाल मत्स्य व्यवसायी संघले तोक्ने गर्छ। संघले प्रतिकिलो माछाको मूल्य ४ सय रुपैयाँ तोकेको केही वर्ष भयो। व्यवसायीहरूले उक्त मूल्य समायोजन नभएको धेरै समय भएको भन्दै समायोजन गर्न संघलाई दबाब दिँदै आएका छन्। तर संघले केही समय पर्खन भनेको छ। माछा व्यवसायी तामाङले संघको कुरालाई मानेर मूल्य नबढाई बिक्री गर्दा प्रशासनले दुर्व्यवहार गरेको बताए।
नेपाल मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीले पठाएको भन्दै यसअघि पनि केही प्रहरी उनको पोखरीमा माछा किन्न पुगेका थिए।
‘हामीले खुद्रामा बेच्ने मूल्य नै ३ सय हो, उनीहरूलाई त्यही भन्यौं। उनीहरूले सिडिओले पठाएको हो २ सयमा देऊ भनेछन्। कर्मचारीहरू बर्दी देखेर डराएछन्, बढी विवाद गर्नुभन्दा २ सय ४० रुपैयाँमा लैजानु भनेर दिएछन्,’ सुवेदीले भने, ‘पछि आउँदा पनि त्यही मूल्य खोज्नुभएको होला, दिन सकिएन।’
उनले गत मंसिरमा चितवनलाई माछामा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि पटक(पटक प्रशासन कार्यालय पुगेर भारतबाट आएका माछाहरूको फर्मालिन जाँच गर्न माग गरिए पनि प्रशासनले त्यसतर्फ कहिल्यै ध्यान नदिएको बताए।
‘तर उनीहरूलाई खुल्लेआम बेच्न छाडेर हामीजस्ता किसान व्यवसायीलाई तारो बनाइएको छ,’ उनले भने।
यस विषयमा भरतपुरकी मेयर रेनु दाहालसँग पनि संघले कुरा गरेको उनले बताए। संघले दाहालको उपस्थितिमा प्रजिअसँग कुरा गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले बताए।
तामाङ माथि प्रशासनबाटै दुर्व्यवहार भएको भन्दै नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले वक्तव्य जारी गरेका छन्। उनीहरूले बजारमा फर्मालिनयुक्त माछाको अनुगमनका लागि गरिएको निवेदनको बेवास्ता गर्दै ताजा तथा जिउँदो माछाको बजार प्रवर्द्धन गर्दै आएका किसान र व्यवसायप्रति दुरूत्साहन गरिएको भन्दै प्रशासनको निन्दा गरेका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले माछा किन्दा आफू ठगिएपछि कानुनअनुसार अनुगमन गरेको बताए।
‘मेरो श्रीमती माछा किन्न गएको हो। पुस ९ गते माछा किन्दा मूल्य प्रतिकिलो २४० थियो। १८ गते ३०० सय तिर्नुपर्यो,’ तामाङले भने,‘मलाई ठगिएजस्तो लाग्यो। त्यसपछि जिल्ला अनुगमनका साथीहरूसँग म गएको हो।’
आफूले माछा व्यवसायी तामाङसँग बिल माग्दा उनले नदिएपछि जिल्ला अनुगमन तथा समन्वय समितिलाई उक्त माछा पसलको अनुगमन गर्न भनेको बताए।
‘मैले उहाँसँग बिल मागेको हो, दुर्व्यवहार गरेको होइन। बरू उहाँले नै मलाई आफू शिव सेनाको कार्यकर्ता भएको बताउनुभएको थियो,’ तामाङले भने।
पछिल्लो पटक प्रशासनले मत्स्य व्यवसायीसँग जे हुनु भइहाल्यो भन्दै कुरालाई धेरै नलम्ब्याउन अग्रह गरेको स्रोत बताउँछ। माछा व्यवसायी तामाङले आफूलाई एक्लै प्रशासन आउन आग्रह गरिएको बताए।
‘तर यो विषय अब म एक्लैको रहेन। जे गर्छ संघले गर्छ म एक्लै आउँदिनँ भनेको छु,’ उनले सेतोपाटीसँग भने।
प्रजिअ तामाङले जिल्लामा विकासका काममा भइरहेको ढिलासुस्तीको विरूद्ध खरो रूपमा उभिँदै आएका छन्। तामाङ चितवन आएपछि बजार अनुगमनको क्रम पनि बढेको छ। तर यो घटनामा भने उनी विवादमा तानिएका छन्।
चितवनमा वार्षिक ६ हजार ६ सय मेट्रिक टन माछा उत्पादन हुन्छ। यसको करिब ४० प्रतिशत देशका विभिन्न जिल्लाहरूमा बिक्री हुने गरेको छ। दैनिक करिब २ टन माछा भारतबाट चितवन आउने गरेका छन्। चितवनको बजारमा झारिने ती माछा चितवन तथा आसपासका जिल्लाहरूमा पनि बिक्री हुन्छन्।



