0 प्रतिक्रिया
प्रचण्डको दुखेसो : माओवादीलाई जिरो हुने गरी बदनाम गरियो
३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् ।
बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे ।
‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो छ,‘भएका र नभएका कुरा गरेर मिडियामा प्रचण्ड फेल भनेर भन्छन् । के तिनले माया गरेर फेल भनेका हुन् त ?’
युद्धमा जस्तै अहिले पनि घेरा तोडेर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अहिले हामी एक्ला–एक्लै भयौं,’ प्रचण्डको भनाइ छ, ‘म एक्लै, तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिलेकै रणनीति घेरा तोड्ने र अगाडि बढ्नेतिर हुनुपर्छ ।’
प्रचण्डले असान्न चुनावतर्फ लक्षित गर्दै आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड समेत दिएको एक सहभागीले बताएका छन् । ‘हामी कांग्रेससँग सहकार्य गर्न जाने होइन, कांग्रेस हामीसँग सहकार्य गर्न आउनुपर्छ,’ उनको भनाइ छ, ‘हामी गठबन्धनभन्दा आफ्नै खुट्टामा उभिनुपर्छ । आफैंमा निर्भर भयौं भने मात्रै हामी जित्छौं ।’



