0 प्रतिक्रिया
सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन
१८ असार, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ ।
शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।
बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताए ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुंग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताए ।
बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।



