+
+
-- Sponsored Ad --

पायल्स निको बनाउन गरिने क्षारसूत्र के हो ?

401 पटक हेरिएको
Clock २०७९ फाल्गुन १८, बिहीबार १३:२४
-- Sponsored --

काठमाडौं । पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् ।

आयुर्वेदिक उपचार विधिमा पनि क्षारसूत्र विधि प्रभावकारी भनेको हामीले सुनिरहेका हुन्छौं । क्षारसूत्र भनेको के हो ? यो विधि कति प्रभावकारी छ ? लगायत विषयमा आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी :

क्षारसूत्र के हो ?

क्षारसूत्र ‘क्षार’ र ‘सूत्र’ शब्द मिलेर बनेको छ, जसमा क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । यही क्षार र धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ ।

यसले पायल्सको उपचार कसरी गरिन्छ ?

अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गरिन्छ ।  मलद्वारबाट बाहिर निस्किएको मासुलाई काटेर सफा गर्ने र घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुन्छ ।

कस्तो अवस्थामा क्षारसूत्रले काम गर्छ ?

पायल्सको पहिलो र दोस्रो चरण हो भने आयुर्वेदिक औषधिबाट पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने क्षारसूत्र विधिबाट उपचार गरिन्छ ।

यो सबै किसिमको पायल्स निको हुन्छ ?

पहिलो, दोस्रो चरणको पायल्सको लागि त क्षारसूत्र गर्नै पर्दैन औषधिबाट नै निको हुन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसूत्रले पायल्स निको हुन्छ ।

क्षारसूत्रको साइड इफेक्ट के हुन्छ ?

क्षारसूत्रको साइड इफेक्ट त खासै हुँदैन । केही बिरामीले भने दुख्ने र पोल्ने समस्या हुन्छ भन्नुहुन्छ । तर केही दिनपछि त्यो समस्या आफैं समाधान हुन्छ । कालान्तरमा पनि यसको खासै साइड इफेक्ट हुँदैन ।

यसले शतप्रतिशत निको हुन्छ त ?

बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिन सके यो समस्या दोहोरिने सम्भावना हुँदैन । लगभग ९९ प्रतिशत पायल्सको समस्या यो विधिबाट निको पार्न सकिन्छ ।

क्षारसूत्र गरेपछि के कुरामा सावधानी अपनाउनुपर्छ ?

क्षारसूत्र गरेपछि सरसफाइमा ध्यान दिनुपर्छ । बिरामीहरूले सरसफाइमा ध्यान नदिंदा घाउ पाक्ने समस्या हुनसक्छ । बढी मासुजन्य खानेकुरा र मैदाजन्य खानेकुरा नखानु उचित हुन्छ । दिसा साह्रो हुने र कब्जियत हुने खानेकुरा खानु हुँदैन ।

पायल्सका रोगीले के खानुहुन्छ के हुँदैन ?

पायल्स, फिसर र फिस्टुला हुँदा माछा, मासु, अण्डा, तारेको, भुटेको खाना, मैदाको परिकार, अदुवा, मरिच, खुर्सानी,  मसालेदार भोजन, रक्सी, चुरोट, अम्बा, अनार, आँप, काँचो केरा, कालो दाल, कोदो, फापरको परिकार, चिउरा, कफी, कोल्ड ड्रिङ्क, मह, पिंडालु र भ्यान्टालगायत कब्जियत गराउने खानेकुरा खानु हुँदैन ।

पायल्सको समस्या भएकाले हरियो सागपात, फलफूल, सलाद, दूध, मही, झोलिलो खानेकुरा, रेसादार खानेकुरा, काँक्रो, मूला र गाँजर खान हुन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win