१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार रिहा भएनन् ।
केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार रिहा नभएका केन्द्रीय कारागार स्रोतले जानकारी दियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ ।
टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पा लगायत ९ जनालाई थुनामा नै राख्न आदेश दिएको छ । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

