माघ १६, कावासोती ।
प्रजातन्त्रका लागि प्राण आहुित दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो वर्ष पनि शुक्रबार(आज) शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाइन्छ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो । विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो ।
यसैविच, सहिद दिवसको पूर्व सन्ध्यामा बिहिबार सिद्धार्थ आवासीय मावि कावासोतीले सहिद दिवस विषेश कार्यक्रम गरेको छ । देशको लागि वलिदानि दिएका सहिदहरुको योगदान र सहिद दिवसको महत्व वुझाउने उद्येश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच कविता वाचन र सहिदहरुको आत्मकथा वाचन प्रतियोगिताको आयोजना गरिएको हो । अतिरिक्त क्रियाकलाप विभाग प्रमुख रुक्मागत भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल अशोक पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपालमा अनौपचारिक हिसाबले वि.सं. २००७ साल देखि नै सहिद दिवस मनाउन थालिपनि औपचारिक रुपमा २०१२ साल देखि यो दिवस मनाउन थालिएको बताउनुभएको छ । सामाजिक विषय शिक्षक समेत रहनुभएका पौडेलले देशमा २००७ साल पछिका विभिन्न आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुलाई पनि सहिद घोषणा गर्ने क्रम जारि नै रहेको भन्दै सबै सहिदहरुको सम्मान एवं राष्ट्रका लागि पूर्खाले दिएको योगदानलाई कदर गर्दै विद्यार्थीहरुमा देश प्रतिको भक्ति भाव जगाउने उद्येश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले सहिदहरुको सम्मानमा दिप प्रज्वलन एवं सहिदकै भेषभुषामा सहिदहरु देशमा के भएको देख्न चाहान्छन् ? भन्ने मर्ममा स्वयंलाई सहिदको स्थानमा राखि आत्म कथा प्रस्तुत गरेका थिए । मा.वि. स्तरिय सहिदहरुको आत्मकथा वाचन प्रतियोगितामा १२ जना र आधारभुत तह स्तरिय कविता वाचन प्रतियोगितामा १० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । कविता मार्फत विद्यार्थीले स्वतन्त्र र सार्वभौम राष्ट्र नेपाल निर्माणमा महान सहिदहरुले दिएको योगदानको विषेश चर्चा गरेका थिए । कार्यक्रमको निर्णायकको भूमिकामा शिक्षकहरु रुक्मागत भुसाल र अनुपा तिवारी रहनुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक निराजनराज गौतमले गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुको घोषणा एवं पुरस्कार वितरण आउँदो १८ गते आईतबार गरिने विद्यालयले बताएको छ ।