+
+
-- Sponsored Ad --

तालिबान आएपछि यसरी पढाउन थाले अफगानिस्तानका विश्वविद्यालयले (फाेटाे फिचर)

906 पटक हेरिएको
Clock २०७८ भाद्र २२, मंगलवार २१:२९
-- Sponsored --
अफगानिस्तानमा सोमबारदेखि निजी विश्वविद्यालयले फेरि पढाउन सुरू गरेका छन्। राजधानी काबुलसहित विभिन्न प्रान्तीय राजधानीमा रहेका विश्वविद्यालयले तालिबानहरूले सत्ता कब्जा गरेको तीन सातापछि फेरि कक्षा सञ्चालन गरेका हुन्।

फेरि पढाइ सुरू हुँदा विश्वविद्यालयका कक्षाको वातावरण भने पहिलाजस्तो थिएन। सामाजिक सञ्जालहरूमा पोष्ट भएका तस्बिरहरूमा कक्षाकोठामा केटा र केटीलाई छुट्याउन बीचमा पर्दा राखिएको देखिन्छ।

विश्वविद्यालय फेरि खोल्नुअघि निजी विश्वविद्यालयको एसोसिएसनले कक्षा सञ्चालन निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकामा कक्षाकोठामा केटा र केटी सँगै बस्न नहुने, केटीहरूले अनिवार्य रूपमा बुर्का लगाउनु पर्ने, उनीहरूलाई क्याम्पसका केही निश्चित भागमा जान नदिने, केटीहरूलाई सकभर महिला लेक्चररले मात्र पढाउनु पर्ने त्यसो गर्न सम्भव नभए असल व्यवहार भएका बुढा लेक्चररले पढाए पनि हुने कुरा उल्लेख थियो।

समाचार संस्था रोयटर्सले यो निर्देशिका नै तालिबानहरूको आधिकारिक धारणा हो कि होइन भन्ने स्पष्ट भइनसकेको बताएको छ। एक जना तालिबान अधिकारीले कक्षाकोठामा पर्दा लगाएर पढाउने कुरा आफूहरूलाई स्वीकार्य हुने बताएका छन्। अफगानिस्तानमा पढाउने जनशक्तिको अभाव भएकाले एकै पटक एउटै लेक्चररले केटा र केटीलाई पढाउँदा सजिलो हुने उनको भनाइ छ।

हेरात विश्वविद्यालयमा पत्रकारिताका एक जना प्राध्यापकले एक घन्टाको क्लासलाई आधा घन्टाको पारिएको बताए। पहिलो आधा घन्टा केटीहरूलाई पढाउने र त्यसपछि केटाहरूलाई पढाउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।

काबुलको एक निजी विश्वविद्यालयका लेक्चरर ३७ वर्षीय सेर अजामले केटा र केटीका लागि फरक-फरक क्लास लिने कि बीचमा पर्दा राखेर एकै पटक पढाउने विकल्प छान्न विश्वविद्यालय प्रशासनले भनेको बताए।

तालिबानहरूले सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा केटीहरूलाई उच्च शिक्षा पढ्न र बाहिर काम गर्नबाट रोकेका थिए। पछिल्ला २० वर्षमा भने अफगानिस्तानमा धेरै महिलाहरूले विश्वविद्यालयको शिक्षा लिएर विभिन्न पेसामा काम गर्न थालेका थिए।

२० वर्षपछि फेरि सत्तामा आएका तालिबानहरूले  सरिया कानुनअनुसार महिला अधिकार दिने बताएका छन्। केही दिनयता राजधानी काबुलसहित विभिन्न सहरमा महिलाहरूले सरकारमा महिलाको सहभागितालगायत आफ्ना हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।  

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win