+
+
-- Sponsored Ad --

बनिबनाउ घरको नाममा केही साथी दास बन्दै हुनुहुन्छ: सहरी विकासमन्त्री झाँक्री

299 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार ०८:४४
-- Sponsored --

२ कात्तिक, मंगलबार २०७८, गुल्मी,

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताइन्। साेमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन्। 

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो। एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उनको भनाइ थियो। यसो गर्दा ओलीको नजरमा आफूहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन्। अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उनको जिकिर थियो। आफूहरुले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन्। 

फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरुले पार्टी निर्माणको तीन महिने अभियान चलाउने जानकारी दिइन्। तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उनको दाबी थियो। प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन्। 

प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन्।

जनभावनाअनुसार काम गर्नेछु

मन्त्री झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताइन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताएकी हुन्। 
    
वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो। अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन्।

नेकपा (एकीकृत समाजवादी) की नेत्रीसमेत रहेकी मन्त्री झाँक्रीले युवाहरुको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन्।

आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन्। एजेन्सी ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win