+
+
-- Sponsored Ad --

राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता, महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसको गुटगत राजनीति,कोरोना सङ्क्रमणका कारण प्रचण्डको भेटघाट बन्द,राष्ट्रियसभा सदस्य निर्वाचनः शक्ति हत्याउन दाउपेच, एमालेलाई सिट जोगाउनै धौ, ठूला राजनीतिक दलले लुटतन्त्र मच्चाएः लिङ्देन

402 पटक हेरिएको
Clock २०७८ पुष २२, बिहीबार २१:१६
-- Sponsored --

एन सन्चार, २२ पुस, कावासोती :

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ताः

राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफू सहभागी हुने कार्यक्रम भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि भ्रमण रद्द गरेका छन् । कोरोना महामरीको संक्रमण बढ्न थालेपछि भारतमा उक्त समिट स्थगित गरिएको थियो ।

१४औं महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसको गुटगत राजनीति, शेखरले सुरु गरे भेलाः

१४ औं महाधिवेशन सम्पन्न भएको २ साता नबित्दै नेपाली कांग्रेसमा गुटगत राजनीति सुरु भएको छ ।
एकता र रुपान्तरणको सन्देशसहित १३ औं महाधिवेशनलगत्तै देश दौडाहामा निस्किएका शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएलगत्तै गुटगत राजनीतिको अग्रभागमा देखिनुभयो ।
नवनिर्वाचित केन्द्रीय समितिको २ वटा बैठक र केही महत्वपूर्ण निर्णयहरूमा सभापति शेरबहादुर देउवाले महत्व नदिएपछि कोइराला पक्ष सभापति एकलौटी ढंगले चल्न थालेको भन्दै घुमाउरो तरिकाले भागबण्डा हुनुपर्ने लबिङ गर्न थालेको छ ।
बुधबार भएको गुटगत भेलाले देउवामाथि दवाव बढाउने सन्देशमात्र दिएको छैन, कांग्रेसभित्र औसत रूपमा गुटगत राजनीतिको विरोधी नेताका रुपमा चिनिएका शेखरले पनि गुटगत राजनीतिमा भविष्य देख्न थालेको सन्देश गएको छ ।
कोइराला प्यानलबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय सदस्यमा मनोनित नगरेपछि यो समूह सभापति देउवाप्रति आक्रोशित बनेको हो । पार्टीका निर्णय प्रक्रिया न्यायोचित, विधिसम्मत तथा अवसरको वितरण र व्यवस्थापनका विषयमा पनि यो समूहले प्रश्न उठाएको छ ।
एकपछि अर्को घटनाक्रम हेर्दा सभापति देउवाले निर्णायक भूमिका नदिने देखेपछि गुटगत भेला सुरु गरेका कोइरालाले पार्टी दुर्घटनामा पर्ने र कांग्रेसमा किन बसिरहने जस्ता दीर्घकालिन असर पर्ने खालका चेतावनीयुक्त अभिव्यक्ति दिनुभएको छ ।
कोइरालाका यस्ता अभिव्यक्तिले पार्टीभित्रका दुई समूहको दूरी झन् बढ्ने देखिएको छ ।
भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियारको उपस्थितिले थप नकारात्मक सन्देश प्रवाह गरेको विश्लेषण हुनथालेको छ ।
यद्यपि सहभागी नेताहरूले समानान्तर गतिविधि गर्न नचाहेको जिकिर गरेका छन् । तर, कांग्रेसमा क्यान्सरको रूपमा रहेको गुटगत राजनीति १४ औं महाधिवेशले पनि हटाउन नसकेको प्रष्ट भएको छ ।

पार्टी कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अध्यक्ष प्रचण्डको भेटघाट बन्दः

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ ।
केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उहाँको सचिवालयले जनाएको छ । पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने बताउनुभयो ।
उहाँले तत्कालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएकाले भिडभाडमा पनि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । पार्टी कार्यालयमा कार्यरत कर्मचारीमाा कोरोना पुष्टि भएको तथा देशभर नै कोरोनाको सङ्क्रमणको जोखिम थप बढेको भन्दै अध्यक्ष दाहालको सचिवालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनः शक्ति हत्याउन दाउपेच, एमालेलाई सिट जोगाउनै धौः

काठमाडौं । पाँच दलीय गठबन्धन मिल्दा संघीय र प्रदेश सरकारबाट हात धुनुपरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई आगामी माघ १२ मा हुने राष्ट्रियसभाको रिक्त सिटको निर्वाचनमा समेत संकट देखिएको छ ।
राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ । सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह गरी आयोगले गर्ने निर्वाचनका लागि ९ दलबाट ४३ जनाको उम्मेदवारी परेको छ ।
चुनावका लागि एमाले १९, नेपाली कांग्रेस ६, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट पाँच–पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी दुई–दुई, जनता समाजवादी पार्टी दुई, लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चाबाट एक-एक जनाले उम्मेद्वारी दिएका हुन् ।
तर, एमालेको रिक्त सिटमा समेत गठबन्धनको तर्फबाट कांग्रेस तीन, जसपा दुई, माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरेपछि प्रतिपक्ष एमालेलाई आफ्नो सिट जोगाउन सकस पर्ने देखिएको छ ।
अब प्रदेशमा हेरौं । स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरी २ हजार २५ जना मतदाता कायम रहेकोमा प्रदेश सभा सदस्यको मतभार ४८, गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।
जसमध्ये ९२ प्रदेशसभा सदस्य र स्थानीय तह गरी २ सय ७२ मतदाता रहेको प्रदेश एकमा कुल मतभार ९ हजार ३ सय १२, १ सय ४ प्रदेशसभा सदस्य र स्थानीय तहमा २ सय ६८ जना मतदाता रहेको प्रदेश २ मा ९ हजार ८ सय १६ मतभार छ ।
यसैगरी १ सय ९ प्रदेशसभा सदस्य र स्थानीय तहमा २ सय ३७ मतदाता रहेको बागमती प्रदेशमा ९ हजार ४ सय ९८ मतभार रहेको छ । ५९ प्रदेश सभा सदस्य र स्थानीय तहमा १ सय ७० मतदाता रहेको गण्डकीमा ५ हजार ८ सय ९२ मतभार छ ।
त्यसैगरी, ८१ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ २ सय १५ मतदाता रहेको लुम्बिनी प्रदेशमा ७ हजार ७ सय ५८ मतभार तथा ३५ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १ सय ५६ मतदाता रहेको कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ मतभार छ  ।
५२ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १ सय ७५ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ४६ मतभार छ  ।
प्रदेशसभा सदस्यहरुमा अंकगणतिय समीकरण हेर्ने हो भने प्रदेश एकमा एमाले भन्दा गठबन्धन बलियो देखिए पनि अन्य दलको सामान्य सहयोगमा उसले जीत कायम राख्न सक्छ । प्रदेश २ मा एमाले भन्दा ३४ सय बढी मतभारले गठबन्धन अघि हुँदा बागमतीमा एमालेभन्दा ७ सय ६८ मतभारले गठबन्धन अघि छ ।
यस्तै, गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले गठबन्धनमा साथ दिए २ सय ४० मतभारले एमालेभन्दा अघि गठबन्धन रहनेछ । लुम्बिनी प्रदेशमा एमालेभन्दा गठबन्धन ३ सय ३६ मतभारले अघि छ । कर्णालीमा ३ सय ८४ मतभारले गठबन्धन अघि हुँदा सुदूरपश्चिममा एमाले १३ सय ९२ मतभार पछि छ ।
सरसर्ती हेर्ने हो भने प्रदेश एक बाहेक ६ वटा प्रदेशमा एमाले कमजोर देखिएको छ ।

ठूला राजनीतिक दलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएः अध्यक्ष लिङ्देन ।

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताउनुभएको छ ।
बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाएको आरोप लगाउनुभयो ।
उहाँले राजनीतिकलाई पेशा बनाएकोप्रति आक्रोश पोख्दै कांग्रेस र कम्युनिष्टविरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताउनुभयो ।
ठूला दलले मच्चाएको लुटतन्त्र विरुद्ध राप्रपाले कडा प्रतिबाद गर्ने बताउँदै अध्यक्ष लिङ्देनले त्यसविरुद्ध सडक संघर्षमा जान तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । राप्रपामा नेतृत्व परिवर्तन भएजसरी जनमतको कदर गरेर सत्ता परिवर्तन गर्ने उहाँको भनाइ छ ।
देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आउने बताउँदै उहाँले कांग्रेस र कम्युनिष्टको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गर्नुभयो ।

काठमाण्डौ सहरको नयाँ भर्सनु आवश्यक छः अर्थमन्त्री शर्मा ।

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा ुप्रभाकरु ले काठमाण्डौ सहरको नयाँ ुभर्सनु आवश्यक रहेको बताउनुभएको छ । आज बिहीवार लगानी बोर्डको बैठकमा बोल्नुहुँदै उहाँले विकास काठमाण्डौ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभइ दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याउनुभयो । ‘काठमाण्डौ सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ सहर बन्दो रहेछ’, उहाँले भन्नुभयो, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’
मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भन्नुभयो ।
त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि मन्त्री शर्माले निर्देशन दिनुभयो । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले काठमाण्डौ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । यसका लागि अध्ययन गर्न समेत उहाँले निर्देशन दिनुभयो । ‘काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रुत गतिमा पुग्ने हुनुपर्‍यो’, उहाँले भन्नुभयो, ‘यो योजना तपाईँहरूको विशिष्टीकृत योजनामा हुनुपर्‍यो ।’
बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ताः

परराष्ट्रमन्त्री डा। नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ ।
बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् ।
दुवै परराष्ट्रमन्त्रीबीच दुई देशबीचको सम्बन्धनमा उत्पन्न समस्या समाधान गर्दै जाने विषयमा पनि कुराकानी भएको जयशंकरले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने तय भएको थियो । तर भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि उनको भारत भ्रमण पनि स्थगित भएको छ । यही सन्दर्भमा दुई परराष्ट्र मन्त्रीबीच छलफल भएको हो ।

सुन तस्करी प्रकरण, दुई लाख धरौटीमा छुटे गोरेका भाइः

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेका जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
यसअघि युएईमा रहेका उप्रेती सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि मंगलबार नेपाल आएका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।
२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ वैशाख २०७५ मा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।
७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।
अदालतले मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । हत्या अभियोगमा जोडिएका भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
सुन तस्करी मुद्दामा जिल्ला अदालतको फैसलापछि फरार रहेका २१ मध्ये तीन जना अदालतमा हाजिर भएका छन् । हाजिर भएका तीनै जना धरौटीमा छुटेका छन् । गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि उनी ३ लाख रुपैयाँ धरौटी बुझाएर छुटे ।
२२ मंसिरमा लम्सालकै इजलासले तस्कारीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सरकारी वकिल कार्यालयले मोहन र कृष्णगोपाल तस्करीको सुनको लगानीकर्ता भएको दाबी गरेको थियो । तर सुन तस्करीमा संलग्न भनिएकाहरु नै अदालतबाट दोषी ठहर नभएपछि उनीहरु धरौटीमा छुटेका थिए । सुन मुद्दामा अझै १८ जना फरार छन् ।
सुरेन्द्र गौतम, मो. सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, सुनिलकुमार अग्रवाल, कलम कार्की, मणीराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आर, वि भन्ने सन्दिप खड्का अझै फरार छन् ।

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोगः

इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो ।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । ‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो । यो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनको अध्ययन आवश्यक रहेको बताउनुभयो । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबका लागि सहकार्य गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । यो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । अहिले ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबीः

उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।
हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । निसानामा ताक्नुअघि क्षेप्यास्त्रलाई एक सय २० किलोमिटर यताउता घुमाएको बीबीसीले जनाएको छ । यसले क्षेप्यास्त्रलाई नियन्त्रणमा राखेर निसानामा ताक्न सक्ने देखिएको छ ।
उत्तर कोरियाका शासक किम जङ–अनले सैन्य सामर्थ बढाउने प्रतिबद्धता व्यक्त गरेपछि यो पहिलो परीक्षण हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।
हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win