दुइ तिहाइको ऐतिहासीक अवसर गुमाएको नेकपाको ४१ महिना (फर्केर हेर्दा)

२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन । निर्वाचनको तयारी तीब्र थियो । दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन् ।

दसैंको टीकाकै भोलिपल्ट (१५ असोज २०७४ मा) सहमति जुट्यो– नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन बनाउने । नेपाली काँग्रेस नेतृत्वको संयुक्त सरकारमा रहेका माओवादी र प्रमुख विपक्षी दल एमाले बीच १७ असोज २०७४ मा गठबन्धन घोषणा भयो ।

सत्ता साझेदार काँग्रेस नराम्रो गरी झस्कियो । एमाले र माओवादीका नेता–कार्यकर्ता चकित बने । त्यसबेला एमाले र माओवादीबीच सम्बन्ध सहज थिएन । तीन चरणमा सम्पन्न स्थानीय चुनावमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

तर, रातारात एमालेसँग माओवादीको गठबन्धन बन्यो । साझा घोषणापत्र र उम्मेदवार तय भए । १० र २१ मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा देशभर वाम गठबन्धनको लहर आयो । ६ प्रदेश र संघमा पूर्ण बहुमतको सरकार बनाउने जग खडा भयो । तर, पाँच वर्षका निम्ति प्राप्त जनमतको जगमा बनेका सरकारहरू तीन वर्ष नपुग्दै धर्मराउन पुगे भने मंगलबारदेखि एमाले र माओवादी केन्द्र फेरि अलग भए ।

उत्साहको सात महिना

२०१७ सालदेखि खेपिरहेको कम्युनिष्ट टुटफुटको तीतो बिर्साउने गरी भएको वाम एकता र प्राप्त जनमतले दुवै पार्टीका कार्यकर्ता पंक्तिमा उत्साह छाएको थियो । संविधान कार्यान्वयन र राजनीतिक स्थिरता हुनेमा सर्वसाधारणमा समेत ठूलो आशा जागेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्ड ‘जिन्को’विरुवा रोप्दै ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १७४ सिट (एमाले १२१ र माओवादी ५३) प्राप्त गरेको गठबन्धनबाट केपी शर्मा ओली ३ फागुन २०७४ प्रधानमन्त्री निर्वाचित भए । निर्वाचनकै जस्तो ६०/४० को अनुपातमा मन्त्रिपरिषद् बन्यो । ६ प्रदेशमध्ये एमाले नेतृत्वमा चार र माओवादी नेतृत्वमा दुई प्रदेश सरकार गठन भयो । संवैधानिक नियुक्तिहरु पनि सहमतिमा भयो । राष्ट्रपति विद्यादेवी भण्डारी (एमाले), उपराष्ट्रपति नन्दबहादुर पुन (माओवादी), सभामुख कृष्णबहादुर महरा (माओवादी), उपभासमुख शिवमाया तुम्बाहाङ्फे (एमाले), राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिना (एमाले) र उपाध्यक्ष शशीकला दाहाल (माओवादी) निर्वाचित भए ।

पार्टी संगठनको असन्तुष्टिको असर विस्तारै सरकारमा पर्न थाल्यो । भित्रभित्रै सल्किएको आगो सार्वजनिक मञ्च र संसदमा देखिन थाल्यो । त्यही क्रममा खुल्यो– ओली र प्रचण्ड बीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने गोप्य सहमति । त्यसपछि भने प्रचण्ड र ओलीबीचको खटपट सार्वजनिक रूपमै प्रकट हुन थाल्यो ।

गठबन्धनबाट ठूलो सफलता पाएका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता पंक्तिमा जस्तो उपहार दिएका थिए, आफूहरू पनि खुशीले उन्मुक्त भएको सन्देश दिन खोजे । सँगै खाना खाएको तस्वीर सार्वजनिक गर्ने, प्रेम दिवसमा गुलाफ बाँड्नेदेखि एकअर्कामा कसिलो अँगालो हाल्ने गरेको देखियो ।

यो उत्साह र जनमतको बाध्यताको जगमा ३ जेठ २०७५ मा पार्टी नै एक भयो– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । आलोपालो प्रणालीमा दुई अध्यक्ष (ओली र प्रचण्ड) र ४४१ सदस्यीय केन्द्रीय कमिटीसहित पार्टी एकता गरेपछि नेकपारुपी जेट दुई पाइलटले उडाइरहेको अभिव्यक्ति दिए ।

उकुस–मुकुसको यात्रा

दुई अध्यक्षबीचको सहमतिमा पार्टी संरचना र सरकार चल्न थाल्यो । गठबन्धनदेखि एकतासम्म पार्टी संरचना र सरकार दुई अध्यक्षकै सहमतिमा चल्दै थियो । तर, दुई अध्यक्षको सहमति नै पार्टी निर्णय हुने गरेको भन्दै असन्तुष्टि देखिन थाल्यो ।

सुरूमा झलनाथ खनाल र ओलीबीच सम्बन्ध बिग्रियो । पार्टी एकता कार्यदलबाट पन्छाउन खोजेको भन्दै खनालले ओलीसँग चित्त दुखाए । एकीकरणका क्रममा आफ्नो वरियतामा माधव नेपाल राखिएको भन्दै खनालले तीब्र असन्तुष्टि जनाए । खनाल देश बाहिर रहेका बेला उनको वरियता घटुवा गर्दै चौथो वरियतामा राखिएको थियो ।

खनालपछि ओली र प्रचण्डसँग माधव नेपालको असन्तुष्टि बढ्न थाल्यो । पार्टी संरचनामा ओली र प्रचण्ड मिलेर आफू निकट नेताहरुलाई भूमिकाविहीन बनाउने प्रयास गरिएको भन्दै नेपालले चर्को असहमति जनाए । ओली र प्रचण्डको निर्णयलाई त्यसबेला नेपालले ‘चोचोमोचो’ कै संज्ञा दिएका थिए ।

ओली र प्रचण्ड भागबण्डामा निर्णय लिन चाहन्थे, तर एमालेभित्र समानान्तर शक्तिको नेतृत्व गर्ने नेपाल आफू निकट नेताहरूलाई भूमिका दिलाउन चाहन्थे । प्रदेश–१ मा उनी निकट भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नबन्ने अवस्था बनाइएको भन्दै ओलीसँग नेपाल बढी नै झस्किए ।

शक्ति समीकरण आफ्नो पक्षमा बनाउने यी नेताहरुको स्वार्थका कारण पार्टी एकीकरण प्रक्रियाले गति लिन सकेन । एक वर्षपछि बल्ल ९ वैशाख २०७६ मा जनसंगठन र भूगोलको एकता टुंगियो । जबकी, एकता प्रक्रिया तीन महिनाभित्रै सक्ने भनिएको थियो । एकता प्रक्रिया अगाडि नबढेपछि पुस २०७६ मा कार्यदल बन्यो । तर, कार्यदलको रिपोर्टमा नेताहरु सहमत भएनन् ।

पार्टी संगठनको असन्तुष्टिको असर विस्तारै सरकारमा पर्न थाल्यो । भित्रभित्रै सल्किएको आगो सार्वजनिक मञ्च र संसदमा देखिन थाल्यो । त्यही क्रममा खुल्यो– ओली र प्रचण्ड बीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने गोप्य सहमति । त्यसपछि भने प्रचण्ड र ओलीबीचको खटपट सार्वजनिक रूपमै प्रकट हुन थाल्यो । विदेशी भूमिमा गएर गोप्य सहमति सार्वजनिक गरिएको भनी ओली प्रचण्डसँग चिढिए ।

एकाएक, पार्टी विवादभित्र सभामुख प्रकरणले प्रवेश गर्‍यो । सभामुख कृष्णबहादुर महरा १५ असोज २०७६ मा फौजदारी अभियोग लागेर पदमुक्त भएपछि ओली र प्रचण्डबीचको दूरी बढेर गयो । माओवादीको भागमा परेको सभामुख पद रिक्त भएकाले अग्निप्रसाद सापकोटालाई अगाडि बढाउनुपर्ने प्रचण्डले तर्क गरे । तर, ओलीले भने पार्टी एकता भइसकेकाले अब पुरानो कुरा नगर्न भन्दै सुवास नेम्वाङ सभामुख हुनुपर्ने अडान लिए । विवादकै कारण केही महिना व्यवस्थापिका सभामुख विहीन बन्यो ।

तर, सभामुख चयन प्रकरणमा प्रचण्डलाई एमाले नेताहरू नेपाल, खनालसँगै वामदेव गौतमले पनि साथ दिए । सात वर्ष लगातार साथ दिँदा पनि पटक–पटक धोका पाएको भन्दै गौतम ओली इतर गठबन्धनमा उभिए । कहिले प्रधानमन्त्री र कहिले पार्टी अध्यक्ष दिने सहमति गर्ने, तर उल्टै २०७४ को निर्वाचनमा आफूलाई हराउने भूमिका खेलेका नेताहरु ओलीले साथमा लिएर हिँडेको भन्दै गौतम रुष्ट बनेका थिए । यसपटक गौतम खुलेरै पार्टी एकताको भावना अनुसार, सभामुख पूर्वमाओवादीले पाउनुपर्ने तर्क गरे ।

नारायणकाजी श्रेष्ठ ओलीइतर गठबन्धनमै रहेकाले नौ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परे । उनीसँग ईश्वर पोखरेल र विष्णुप्रसाद पौडेल मात्रै रहे । विवाद बढ्दै जाँदा पार्टी एकता संकटमा पर्‍यो । तर, एकता जोगाउने गरी ४ मंसिर २०७६ मा सहमति जुट्यो– ओली पाँच वर्ष नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष । नयाँ सहमतिले पार्टी थोरै अगाडि बढ्यो– सापकोट सभामुख र गौतम पार्टी उपाध्यक्ष बने ।

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले पुस अन्तिम साता स्थायी कमिटी र (१५–१९) माघमा केन्द्रीय कमिटी बैठक राखे । बैठकमा अप्रत्यक्ष रूपमा ओलीबाहेकका नेताहरुको अघोषित एकता देखियो । अल्पमतमा परेपछि ओलीको चाहना अनुसार, निर्णय हुन छोड्यो । आफ्नो प्रिय पात्रलाई सभामुख बनाउन नपाएका ओलीलाई केन्द्रीय कमिटीको निर्णयले निराश बनायो ।

विशेषगरी अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउन पाएनन्, ओलीले । पार्टी नेताहरुकै असहमतिमा अगाडि नढबेको एमसीसी जसरी पनि पारित हुने अभिव्यक्ति दिँदै हिँडेका ओलीको चाहना विपरीत केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनायो । २०७६ मंसिरमा सकिएको उपनिर्वाचनमा नेकपाले गम्भीर धक्का खाएको केन्द्रीय कमिटीको निष्कर्षलाई ओलीले आफू नेतृत्वको सरकार असफल बनाउने योजनाका रुपमा बुझे ।

बिच्किए ओली

पार्टीको सबै कमिटीमा प्रष्ट अल्पमतमा परेपछि ओली निकट नेताहरुले एमाले र माओवादी छुट्टिनुपर्ने अभिव्यक्ति दिन थाले । त्यसका लागि मदन भण्डारी फाउण्डेसनलाई सक्रिय बनाइयो । तर, ओलीइतरको गठबन्धन टुटेन । १४ फागुनको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई पठाउने सर्वसम्ममत निर्णय गर्‍यो । ओली भने अर्थमन्त्रीमा विश्वास पात्र युवराज खतिवडालाई निरन्तरता दिन चाहन्थे । त्यसैले पार्टी निर्णय विपरीत अडान र अभिव्यक्ति दिए ।

२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि ओली त्रिवि शिक्षण अस्पताल भर्ना भए । लगत्तै, ११ चैतदेखि कोरोना रोकथाम गर्न देशब्यापी लकडाउन सुरु भयो । पार्टीको विवाद शान्त देखियो । तर, एकाएक ८ वैशाख २०७७ मा ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए । यसले नेकपाभित्रको विवाद सतहमा आयो । चर्को आलोचनापछि ओलीले दुवै अध्यादेश फिर्ता लिए ।

अध्यादेश आएलगत्तै १० वैशाखमै २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै निवेदन पेश गरे । तर, आफू अल्पमतमा रहेको स्थायी कमिटी र सचिवालय बैठक बोलाउन ओली तयार भएनन् । मुलुक कोरोना महाहारीको त्रासदीमा रहेका बेला नेताहरु मिलाउन मन्त्री र दोस्रो तहका नेताहरु सक्रिय भए । १० असारदेखि स्थायी कमिटी बैठक बोलाइयो । तर, यो बैठक अझ समस्या चर्काउने थलो बनिदियो ।

ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय दूतावास लागिपरेको र नेपालकै नेताहरु सक्रिय भएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टी विभाजनकै नजिक पुग्यो । स्थायी कमिटी बैठकमा ओलीको दुवै पदबाट राजीनामा मागियो ।

लामो सम्वाद र छलफलपछि २६ भदौमा सहमतिको १५ बुँदे निर्णय भयो । ओली फेरि पनि पाँच वर्ष नै प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म अध्यक्ष रहने, अनि प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति भयो । सँगै, सरकारको महत्वपूर्ण निर्णय पार्टी सचिवालयको परामर्शमा गर्ने भनियो ।

भारी भयो, पत्र

एकता जोगिएको भनिएको एकताको सहमति भत्किसकेको तथ्य २७ असोजमा छताछुल्ल भयो । पार्टी निर्णय विपरीत एमसीसी बजेटमा समावेश गरेर विवादमा तानिएका युवराज खतिवडालाई अमेरिकाको राजदूत र तीन मन्त्री थप गरेर ओलीले सहमति तोडेको भन्दै प्रचण्डसहितको गठबन्धन सक्रिय भयो । उनीहरुले बैठक बोलाउन माग गरे ।

तर, २६ भदौको निर्णयअनुसार, प्रचण्डको सहयोग नपाएको बताउँदै आएका ओली बैठक राख्न राजी भएनन् । २३ कात्तिकमा प्रचण्डसहित सचिवालयका पाँच जनाले लिखित पत्र बुझाउँदै बैठकको माग गरे । यसको जवाफ ओलीले तीन दिनपछि फर्काए । २८ कात्तिकमा सचिवालय बोलाइयो । प्रचण्डले पनि त्यसको जवाफ र राजनीतिक प्रतिवेदन भन्दै १९ पृष्ठ लामो पत्र पेश गरे ।

यसलाई ओलीले गम्भीर फौजदारी अभियोग भन्दै पत्र फिर्ता नभएसम्म बैठक नराख्ने अडान लिए । तर, ३ मंसिरमा ओलीले प्रचण्डको जवाफपत्र तयार पार्न दश दिनको समय मागे । ओलीले १४ मंसिरमा ३८ पृष्ठको जवाफी पत्र पेश गरे । आफूले जवाफमा पत्र लेखिरहेपनि ओलीले प्रचण्डको पत्र फिर्ता नभएसम्म एकताबद्ध भएर बैठक बस्न नसकिने अडान लिइरहे । तर, प्रचण्डसहितका नेताहरुले पत्र फिर्ता लिएनन् । सचिवालयमा पेश भएका सवै पत्र २१ मंसिरको स्थायी कमिटी बैठकमा पेश गरियो । ओली अनुपस्थित रहँदै दुई पन्ने पत्र लेखे । विवाद कायमै रह्यो ।

ओलीको असंवैधानिक कदम

बैठक जारी रहेकै बेला ३० मंसिरमा ओलीले संवैधानिक परिषद्को बैठक बोलाए । ४ मंसिरमै देउवासँग ओलीले सहमति गरी संवैधानिक निकायमा सिफारिस गर्ने व्यक्तिहरु टुंग्याइसकेका थिए । त्यसैले संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी भए । सभामुख सापकोटा नआएपछि कोरम पुगेन । दिउँसो संवैधनिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरे, जसअनुसार देउवा र सभामुख सापकोटा उपस्थित नभए पनि बैठक बस्न र निर्णय गर्न मिल्ने बनाइएको थियो । केही घण्टा नबित्दै राष्ट्रपतिबाट प्रमाणीकरण भयो र साँझ बैठक बस्यो ।

यसले नेकपाको विवाद उत्कर्षमा पुग्यो । भोलिपल्टै प्रचण्ड–माधव नेपाल लगायत नेताहरुले अध्यादेश रोक्न भन्दै राष्ट्रपतिसमक्ष समावेदन लगियो । समावेदन दर्ता भएन । बरु, अध्यादेश र समावेदन दुवै फिर्ता लिने सहमति स्थायी कमिटी बैठकमा जुट्यो । तर, चार दिन नबित्दै ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा भंग गरे ।

सधैं, राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाउँदै आएका ओलीको सिफारिस यसपटक पनि रोकिएन । संसद् भंग गर्ने निर्णय केही घण्टा नबित्दै राष्ट्रपतिले प्रमाणीकरण गरिन् । र, सँगै अर्को तथ्य खुल्यो– ओलीले ३० मंसिरमै अध्यादेशअनुसार, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्षसँग बसेर निर्वाचन आयोग, अख्तियार सहित एघार संवैधानिक निकायमा नियुक्ति सिफारिस गरिसकेका रहेछन् ।

संसद् भंग भयो । त्यसैदिन नेकपा विभाजित भयो । तर, यो विभाजन एकता भन्दा भिन्न थियो । मुलतः एमाले विभाजित भयो । डेढ वर्षदेखि उभिएको गठबन्धन छोडेर वामदेव गौतम कतै उभिएनन् । आधा एमालेको नेतृत्व गरेका माधव नेपाल र प्रचण्डले छुट्टै पार्टी संरचना तयार पारे । रामबहादुर थापासहित केही माओवादी नेताको साथ पाएका ओलीले बाँकी संरचनाको नेतृत्व गरे । तर, दुवैले पार्टी वैधानिकताको दावी छोडेनन् ।

अन्ततः अलग

संसदमा ६४ प्रतिशत सासंद रहेको नेकपा विभाजित भएपछि मुलुक एकैपटक संवैधानिक र राजनैतिक संकटतर्फ धकेलियो । संसद् पुनर्स्थापनाको मागसहित प्रचण्ड–माधव समूह लगातार दुई महिना आन्दोलित भयो ।

संसद् विघटनलाई असंवैधानिक र अराजनीतिक भनेको काँग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलित भयो । सँगै, ओली समूह पनि वैशाख १७ र २७ मा घोषणा गरिएको मध्यावधि चुनावको पक्षमा जनता रहेको र संसद् पुनर्स्थापना नहुने भन्दै देशभर सरकारी सभा गरिरह्यो ।

यो अवधि एकअर्का विरुद्ध चर्को आरोप–प्रत्यारोपमा बित्यो । संसद् पुनर्स्थापनाको पक्षमा भने नागरिक समाज, बुद्धिजिवी, पेशाकर्मीलगायत पनि उत्रिए । अन्ततः ११ फागुनमा सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरिदियो । २३ फागुनदेखि हिउँदे अधिवेशन सुरु भयो ।

तर, यतिबेलासम्म पनि निर्वाचन आयोगले नेकपाको वैधानिकता विवादबारे निर्णय दिएको थिएन । प्रचण्ड–माधव समूहले ४४१ मध्ये बहुमत भएकाले आफूले वैधानिकता पाउनुपर्ने प्रमाण पेश गरेको थियो भने ओलीले प्रथम अध्यक्ष, महासचिव र माइन्यूट रहेको प्रमाण पेश गरेको थियो । आयोगले दुवै समूहलाई वैधानिकत नदिने र पार्टी एकता हुँदाको नेकपा रहने निर्णय गर्‍यो । यो निर्णयपछि २० माघमा फेरि प्रचण्ड–माधव समूह आयोगमा गयो । तर, आयोगले कुनै निर्णय दिएन ।

बरू, २३ फागुनमा दुई वर्ष पुरानो रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले फैसला सुनायो– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने । कट्टेलले आफ्नो पार्टीसँग मिल्दो नाम दिएको भन्दै रिट दर्ता गरेका थिए । तर, अदालतले नेकपाको एकता प्रक्रिया नै भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदियो ।

नमागेको दावीमा एक कदम अगाडि बढेर गरेको अदालतको फैसला अनुसार, प्रचण्ड र माधव समूह बैठक नै बसेर अलग हुने निर्णयमा पुगेको छ । अर्थात्, ठूलो कम्पन सहित जुटेको एमाले र माओवादी केन्द्र ४१ महिनापछि अलग भएका छन् ।

अनलाइनखवरको सहायतामा………………………………….

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १९:५०
  • 7 views
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

विस्तृत.....

  • २०८१ माघ २३, बुधबार १२:४८
  • 59 views
पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *