0 प्रतिक्रिया
सरकारसँग साढे ६ महिनाको आयात धान्ने रकम छ : डा. विजय पौडेल
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनुभयो ।
उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरूले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताउनुभयो ।
ऋणमा रहेका व्यवसायीहरूलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालोसूचीमा नपर्ने र काम पनि हुने तर्क गर्नुभयो ।
उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनुभयो ।
‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाव आउँछ,’ उहाँले भन्नुभयो, ‘उद्योगीहरू पनि ब्ल्याकलिस्टमा पर्दैनन्, काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ ।’



