0 प्रतिक्रिया
हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित
इलाम । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन ।
मुख्य आयस्रोत नै गुम्ने खतरा भएकाे इलामका नागरिकले गुनासाे गरेका हुन् । नेपालको पूर्वी जिल्ला इलाम चिया उत्पादनले परिचित जिल्ला हो । यहाँका अधिकांश नागरिक चिया खेती गर्ने गर्दछन् । तर वर्षौदेखि चियाको उचित मूल्य नपाएर उनीहरु दुखित भइरहेका छन ।
सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैंयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोकेपनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् । नगरपालिकाले तयार पारेको कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ ।
जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसारको सर्त पालना गराउन नियमन कार्य प्रभावकारी भएको पाइँदैन । कामदार नपाएपछि किसालने मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन । मेसिनले चिया टिपेपछि गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् ।
लागत अनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो छ भने उता उद्योगीले किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकोले मूल्य नपाएको दावी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहेता पनि चिया किसान र उद्योगीका समस्या सधै उस्तै छन । बोर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योग रहेका छन भने ७ हजार ५ सय किसान चिया खेतीमा आवद्ध छन ।
इलाम, देउमाई र माई नगरपालिकाका साथै सन्दकपुर गाउँपालिकाको धेरै स्थानमा चिया खेती हुने गरेको छ ।



