+
+
-- Sponsored Ad --

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने

390 पटक हेरिएको
Clock २०७९ जेष्ठ १८, बुधबार ११:४२
gandaki-prdesha1
-- Sponsored --

नवलपुर : गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।

मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना गर्ने निश्चित भएको उनले बताए। 

मेलाको मिति भने तोकिएको छैन। पोखरा महानगरपालिकालाई पत्राचार गरेर कार्यक्रमबारे आपसी छलफल र तयारीबारे कुराकानी गरेपछि कार्यक्रम कहिले गर्ने? कहाँ गर्ने? कति गर्ने? लगायत विषयको निर्णय हुने ढकालले बताए। ‘मेलामा रोजगार प्रदायक र बेरोजगारहरूबीच भेटघाट हुन्छ। रोजगार प्रदायकले आफू वा सम्बन्धित क्षेत्रमा मिल्नेलाई सम्पर्कमा लिन्छन्,’ उनले भने, ‘प्रारम्भिक चरणको छलफलमा सबैको सकारात्मक कुरा आयो। अब पोखरा महानगरपालिकासँग कुराकानी गरेर कहिले गर्ने? कसरी गर्ने? भन्ने लगायतका कुराहरूको निर्णय हुने छ।’

सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको रोजगार मेलाले २०० भन्दा बढी बेरोजगार युवालाई रोजगारी दिन सक्ने र कम्तीमा एक हजार जनाले मेलाको अवलोकन गर्ने अपेक्षा छ।  मेलाबाट व्यावसायिक तालिम लिन चाहने विद्यार्थीलाई पर्याप्त जानकारी दिने समेत प्रदेश सरकारको लक्ष्य छ। मेलाले अध्ययन तथा तालिम पूरा गरेका रोजगारीका अवसर प्राप्त नगरेका नागरिकका लागि तत्कालै उपयुक्त वातावरण निर्माण गर्ने र भविष्यको लागि पनि रोजगारदाताको सम्पर्कमा रहने बाटो तयार गर्ने छ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै राख्ने योजनाको सुरुवात मात्रै गर्न लागेको बताए। प्रदेश सरकारले ल्याएको श्रम नीतिमा टेकेर असंगठित मजदुरहरूलाई संगठित गर्ने र राज्यको दायरामा ल्याउने तथा उनीहरूको समस्याको पहिचान गरी सिप अनुसारको काम मिलाउने उद्देश्य रहेको उनको भनाइ छ।

मेलाअघि नेपाल व्यावसायिक योग्यता प्रणालीबारे सरोकारवालाहरूलाई अभिमुखीकरण तथा रोजगार मेला सम्बन्धी छलफल समेत गरिएको छ। नेपाल सरकार र स्विस सरकारको सहयोगले सञ्चालनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना दोस्रो चरण अन्तर्गत रोजगार मेला आयोजना गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्वज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना हुन लागेको हो। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win