0 प्रतिक्रिया
नेपाली अर्थतन्त्र दबाबमा छ, सबै मिलेर समाधान गरौं : वर्षमान
१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएको भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताए । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको नकारात्मक प्रभावका कारण विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने पुनको आशंका छ ।
पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए । समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेण्टी हुनुपर्ने उनको जोड छ ।
स्थानीय पालिकाहरुले आधारभूत स्वास्थ्य निःशुल्क गरेका छन् । प्रदेश सरकारले पनि केही ठाउँमा गरेको छ । समाजवादलाई रणनीतिक लक्ष्य बनाएर सामाजिक सुधार गर्नुपर्छ । पुनले उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि तथा त्यसको न्यायिक वितरणमार्फत समाजवादको आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।



