0 प्रतिक्रिया
सामुदायिक विद्यालयमा प्रधानाध्यापक पाउनै समस्या
१४ असार, डोटी । ‘पहिले पहिले प्रधानाध्यापक हुनका लागि हानथाप हुन्थ्यो, आफू कसरी प्रधानाध्यापक हुने भन्ने जुक्तिमा लागेका हुन्थे सामुदायिब बिद्यालयका शिक्षकहरु । तर, अचेल प्रधानाध्यापक पाउनै गार्हो भएको छ । शिक्षकहरुले प्रधानाध्यापक हुन मानिरहेका छैनन् ।’ बझाङ जिल्लाको थलारा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रायभान ओलीको अनुभव हो यो ।
एक वर्षको दौरानमा एक विद्यालमा तीन जना शिक्षक फेरिएको सुनाउँदै उनी भन्छन्, ‘अचेल प्रधानाध्यापक हुन झण्झट मान्दैछन् शिक्षकहरूले । उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको कार्यबोझ बढ्दै गएपछि यस्तो समस्या आएको बताए । थलारा गाउँपालिकाका अधिकांश विद्यालयहरुमा यस्तो समस्या रहेको बताए ।
ऐश्वर्य आधारभूत विद्यालय, मोयलको नमुना सामाजिक परीक्षणका क्रममा ओलीले विद्यालयहरुमा विधिवत् रुपमा सामाजिक परीक्षण हुन नसक्नुको कारण प्रधानाध्यापकहरू फेरिनु पनि रहेको बताए । उनी भन्छन्, ‘६/६ महिनामा प्रधानाध्यापक फेरिदै गए विद्यालय प्रशासन राम्रो नहुने र गुणस्तरीय शिक्षा पनि नहुने, त्यसमाथी उनीहरुको जवाफदेहिता पनि बढ्छ ।’
प्रधानाध्यापकलाई सेवा सुविधा दिए मात्र काम गर्ने इच्छाशक्ति बढ्ने ओलीले वताए ।
ओलीले विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ अनुसार विद्यालयहरुले सामाजिक परीक्षण गर्न नसकेको कुरा स्वीकार गरे । उनले भने, ‘सामाजिक परीक्षण अनिवार्य रुपमा गर्नुपर्छ भन्ने व्यवस्था छ, विद्यालयहरुले गर्छन् पनि तर त्यो विधिवत् भएको छैन ।’ अब सबै विद्यालयहरुले विधिवत् रुपमा सामाजिक परीक्षण गर्नु पर्ने बताए ।



