0 प्रतिक्रिया
म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे ।
महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने भारत र चीनले उपहारमा दिए लिन चाहेको भनेर प्रस्ताव राख्नुपर्ने बताए ।
महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ वा सक्दैनौँ भन्ने आधार नै नरहेको बताए ।
उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए ।
‘एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सकिएको थिएन, एकैपटक ४ वटामा पुग्यौं । एउटापछि त २ वटामा जाने हो नि । हामी एउटाबाट दोस्रोमा जाने हो । तर किन सबैतिर गयौं भन्दा हामीलाई एकैपटक चुनाव लाग्छ’ महामन्त्री शर्माले भने ।




